जीतपुरसिमरामा देउवा पक्षीय कांग्रेसको नगर अधिवेशन सम्पन्न, निरज गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति

रञ्जन यादव /बारा २३ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको बारा जिल्लास्थित जीतपुरसिमरा उपमहानगरपालिका नगर अधिवेशन जीतपुरमा सम्पन्न भएको छ। अधिवेशनले निरज कुमार गिरीको अध्यक्षतामा सर्बसम्मत नयाँ नगर कार्यसमिति चयन गरेको छ।

नगर संयोजक निरज कुमार गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बारा जिल्ला सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्वनगर प्रमुख राजेश राय यादव रहनुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति यादवले पार्टीको संगठन सुदृढीकरण र कार्यकर्ताको साथ तथा सहयोगका लागि आफू २४ सै घण्टा खट्न तयार रहेको बताउनुभयो। उहाँले जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडामा पार्टीको बलियो उपस्थिति स्थापित गर्न अहिलेदेखि नै संगठन विस्तार र सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

उहाँले पार्टीलाई बलियो बनाउन स्थानीय तहसम्म संगठन विस्तार गर्नुका साथै कार्यकर्ताबीच एकता, सहकार्य र सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो।त्यसैगरी, बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे आफ्नो धारणा राख्दै शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई नै असली कांग्रेस भएको दाबी गर्नुभयो। उहाँले गगन थापा नेतृत्वको कांग्रेसलाई ‘दुई नम्बरी कांग्रेस’को संज्ञा दिँदै निर्वाचन आयोगले आर्थिक चलखेलका आधारमा उक्त समूहलाई आधिकारिकता दिएको आरोपसमेत लगाउनुभयो।

गुप्ताले पार्टीको नेतृत्व र आधिकारिकताका विषयमा आफ्नो पक्षको धारणा प्रस्तुत गर्दै नेता तथा कार्यकर्तालाई संगठनात्मक रूपमा एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो।कार्यक्रममा महिला नेतृ राधादेवी साहले पनि देउवा नेतृत्वको नेपाली कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताले काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले विभिन्न कारणले पार्टीबाट अलग भएर गगन थापा नेतृत्वको समूहमा गएका नेता तथा कार्यकर्तालाई पुनः फर्किएर एकताबद्ध हुन आह्वान गर्नुभयो।

अधिवेशनमा सहभागी नेताहरूले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच आपसी एकता र आगामी महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहमा कांग्रेसको उपस्थिति बलियो बनाउने विषयमा जोड दिएका थिए।
जीतपुरसिमरामा सम्पन्न नगर अधिवेशनलाई देउवा पक्षीय कांग्रेसले स्थानीय संगठनलाई व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि कार्यकर्तालाई परिचालन गर्ने अवसरका रूपमा लिएको छ। अधिवेशनमा करिब ३ सय जना नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।