भोलि खैरवामा तेस्रो छठ मेला आयोजना हुने

रञ्जन यादब /बारा २८ कार्तिक

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैरवामा छठ पर्वको अवसरमा भोलि कार्तिक २९ गते तेस्रो छठ मेला आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले न्यू युनिक क्लब खैरवाले मेलाको आयोजना गर्न लागेको हो। खैरवा खेल मैदानमा सुरु हुने मेलालाई यस वर्ष विगतका संस्करणभन्दा थप आकर्षक र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। यसअघि २०८१ सालमा पहिलो र २०८२ सालमा दोस्रो संस्करण सम्पन्न भइसकेका छन्।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, स्थानीय तथा नवप्रतिभाशाली कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। परम्परागत सांस्कृतिक झाँकी, नृत्य, जनचेतनामूलक नाटक तथा मनोरञ्जनात्मक कार्यक्रमले मेलालाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ। छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउनुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण र सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने कार्यक्रमलाई पनि मेलामा समेटिने जनाइएको छ । खैरवामा रहेको छठ घाट जीतपुरसिमरा उपमहानगरपालिकाकै नमुना घाटका रूपमा परिचित हुँदै आएको छ। घाटको निर्माण, संरक्षण, सरसफाइ र सौन्दर्यीकरणमा क्लब तथा स्थानीयवासीले निरन्तर योगदान पु¥याउँदै आएका छन्। मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।तेस्रो संस्करणको मेला सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।