रञ्जन यादब / बारा
जीतपुरसिमरा उपमहानगरपालिकाले विजया दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी गरिने सजावट, पूजाआजा तथा आवश्यक सामग्री खरिदसम्बन्धी काम वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाएको छ।
उपमहानगरपालिकाले २४ वटै वडा कार्यालयका वडा सचिवलाई पत्र पठाउँदै चाडपर्व लक्षित कार्यक्रम तथा खरिदका लागि आवश्यक खर्च व्यवस्थापन र प्रक्रिया वडा तहबाटै अघि बढाउन अख्तियारी दिएको हो।
यसअघि बत्ती जडान, दुर्गा मन्दिरमा पूजा तथा छठ पूजाका लागि आवश्यक सामग्री खरिदलगायतका काम उपमहानगरपालिका कार्यालयबाट हुँदै आएका थिए। यस वर्षदेखि भने यस्ता कामको खर्च तथा खरिद प्रक्रिया सम्बन्धित वडा कार्यालयबाटै सञ्चालन हुने भएको छ।
खरिद तथा खर्च प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन उपमहानगरपालिकाले वडा कार्यालयहरूका लागि कार्यसम्पादनसम्बन्धी चेकलिस्टसमेत जारी गरेको छ। उपसचिव उमेश वाग्लेले जारी गरेको पत्रअनुसार वडा कार्यालयले खरिद तथा कामको प्रकृतिअनुसार तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ।
चेकलिस्टअनुसार १ लाख रुपैयाँसम्मको काम सोझै खरिद गरी बिल पेसका आधारमा भुक्तानी गर्न सकिनेछ। त्यस्तै, १ लाख रुपैयाँभन्दा बढी र १५ लाख रुपैयाँसम्मको कामका लागि आवश्यकताको टिप्पणी उठाई कम्तीमा तीन वटा फर्म वा कम्पनीसँग दररेट माग गर्नुपर्नेछ।
प्राप्त दररेट कार्यालयमा दर्ता गरी स्वीकृत गरेपछि सबैभन्दा कम दररेट पेश गर्ने फर्म वा कम्पनीलाई सम्झौताका लागि पत्राचार गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि फर्म वा कम्पनीको निवेदनका आधारमा औपचारिक सम्झौता गरी कार्यादेश दिनुपर्नेछ।
कार्य सम्पन्न भएपछि सम्बन्धित फर्म वा कम्पनीले पेस गरेको बिलको प्राविधिक मूल्याङ्कन गराई त्यसका आधारमा भुक्तानी गर्नुपर्ने चेकलिस्टमा उल्लेख छ।
चाडपर्वका बेला वडा तहमा हुने बत्ती जडान, सजावट, पूजाआजा तथा आवश्यक सामग्री खरिदका कामलाई स्थानीय स्तरमै सहजीकरण गर्ने उद्देश्यले अख्तियारी विकेन्द्रीकरण गरिएको उपमहानगरपालिकाले जनाएको छ। यसबाट चाडपर्व लक्षित कामको व्यवस्थापन सहज हुनुका साथै खरिद प्रक्रियालाई निर्धारित विधिअनुसार सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।




