५० प्रतिशत अनुदानमा कृषकलाई मकैको बिउ वितरण, आधुनिक प्रविधिबाट खेती गर्न प्रोत्साहन

रञ्जन यादब /बारा २६ कार्तिक

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खेस्रौलमा कृषकलाई व्यावसायिक मकै खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको छ।वडा नं. ११ स्थित श्री सीपमूलक कृषि सहकारी संस्था लिमिटेड खेस्रौलले करिब १ सय जना कृषकलाई ९९९९ जातको मकैको बिउ वितरण गरेको हो। एक कार्यक्रमबीच कृषकहरूलाई अनुदानमा बिउ हस्तान्तरण गरिएको सहकारीले जनाएको छ।

कृषि उत्पादन वृद्धि गर्ने, खेती लागत घटाउने तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिउ वितरण कार्यक्रम आयोजना गरिएको श्री सीपमूलक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सँतोष यादबले जानकारी दिनुभयोकार्यक्रममा मकै खेतीलाई परम्परागत तरिकाबाट मात्र नभई आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो।

यसैक्रममा कृषकहरूलाई मकै रोप्ने आधुनिक मेसिनको प्रयोगसम्बन्धी नमुना प्रदर्शनसमेत गरिएको थियो। मेसिनको सहायताले मकैको बिउ रोप्ने तरिका, त्यसबाट हुने फाइदा तथा खेतीलाई सहज र प्रभावकारी बनाउने विधिबारे कृषकहरूलाई प्रत्यक्ष जानकारी गराइएको थियो।

आधुनिक मेसिनबाट बिउ रोप्दा कम समयमा धेरै क्षेत्रफलमा खेती गर्न सकिने, श्रम तथा समयको बचत हुने र रोपाइँलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।बिउ वितरणसँगै आधुनिक कृषि प्रविधिको प्रयोगबारे व्यावहारिक जानकारीसमेत प्रदान गरिएकाले यसले स्थानीय कृषकलाई मकै खेतीमा थप उत्साहित बनाउने जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीले जानकारी दिनुभयो ।