रञ्जन यादब /बारा ०५ मंशिर
विद्यार्थीमा सहकार्य, नेतृत्व, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुमरवानामा आयोजित क्वेस्ट नेपाल ११औँ हब सम्मेलन सम्पन्न भएको छ।
राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवानाको आयोजनामा ‘एसक्यूसीमार्फत सहानुभूति विकास’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका ११ वटा संस्थागत विद्यालयका १४६ जना विद्यार्थी सहभागी भएका थिए। विद्यार्थी गुणस्तर वृत्त (एसक्यूसी) को अवधारणालाई व्यवहारमा उतार्दै विद्यार्थीको प्रतिभा, क्षमता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदनका निर्देशक श्यामप्रसाद भट्टराईको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिमरा हब सम्मेलनका संयोजक किशोरबाबु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
सम्मेलनमा विद्यार्थीहरूबीच गुणस्तर प्रश्नोत्तरी, चित्रकला, एसक्यूसी खोजी प्रतियोगिता र कथा निर्माणलगायतका प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गरिएको थियो। यसका साथै एसक्यूसीका सफल अभ्यास र अनुभव समेटिएका प्रकरण अध्ययन प्रस्तुति तथा विषयविज्ञबीच छलफल र संवादसमेत गरिएको थियो। यस्ता गतिविधिले विद्यार्थीमा सामूहिक कार्य, नेतृत्व, आत्मविश्वास, सिर्जनात्मक सोच र समस्या समाधान गर्ने क्षमता विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रममा बोल्दै भोजराज सुवेदीले एसक्यूसीमा आबद्ध विद्यालय र विद्यार्थीलाई एकै थलोमा जोड्न हब सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एसक्यूसी प्रभावकारी अभ्यास भएको उल्लेख गर्दै सिमरा क्षेत्रमा यसको विस्तारमा सूर्य नेपाल प्रालिले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरे। विद्यालय सञ्चालक तथा प्रधानाध्यापकहरूको निरन्तर सहकार्यले पनि एसक्यूसी अभियानलाई अगाडि बढाउन सहयोग पुगेको उनको भनाइ थियो।
सिमरा पब्लिक स्कुलका प्रधानाध्यापक बसन्त ढकालले एसक्यूसी र स्क्र्याबलजस्ता गतिविधिले जीतपुरसिमराको शैक्षिक पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पु¥याएको बताए। यस्ता कार्यक्रम विद्यार्थीका साथै विद्यालय सञ्चालक र प्रधानाध्यापकका लागि पनि सिकाइको महत्वपूर्ण माध्यम बनेको उनले उल्लेख गरे।
जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले भने सामुदायिक विद्यालयमा एसक्यूसी कार्यक्रमको पहुँच अझै कमजोर रहेको औँल्याए। उनले आवश्यक स्रोतसाधनको व्यवस्था गरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा समेत एसक्यूसी कार्यक्रम विस्तार गर्नुपर्ने बताए। शिक्षामा गरिएको लगानीको उपलब्धि र कमजोरीको नियमित समीक्षा हुनुपर्नेमा जोड दिँदै उनले सामुदायिक तथा संस्थागत विद्यालयबीच समान व्यवहार गर्न स्थानीय सरकारसँग आग्रह गरे।
नगरप्रमुख राजन पौडेलले सामुदायिक विद्यालयलाई समेत यस्ता शैक्षिक गतिविधिमा सहभागी गराउनुपर्ने विषयमा पटक–पटक छलफल भए पनि छुट्टै कार्यक्रम बनाएर कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे। आगामी दिनमा सिमरा हबमार्फत सञ्चालन हुने कार्यक्रममा सामुदायिक विद्यालयलाई समेत समेट्न पहल भए उपमहानगरपालिका सहयोग गर्न सकारात्मक रहेको उनले बताए।
संस्थागत र सामुदायिक विद्यालयबीच कुनै विभेद नरहेको स्पष्ट पार्दै नगरप्रमुख पौडेलले कानुनी व्यवस्थाका कारण संस्थागत विद्यालयलाई आर्थिक सहयोग गर्न केही कठिनाइ रहेको बताए। आफू निर्वाचित भएदेखि नै जीतपुरसिमरालाई शैक्षिक हबका रूपमा विकास गर्ने प्रयास गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा शैक्षिक उपलब्धिको समीक्षा र सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदनका प्रिन्सिपल सागर ठाडामगरसहित विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।




