रञ्जन यादब /बारा २६ कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ भलुहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चियापान कार्यक्रम विवाद र झडपमा परिणत भएको छ। कार्यक्रममा दुई पक्षबीच भएको कुटाकुटमा करिब १२ जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार रास्वपाका अस्लम देवान र सुवास मन्सुरी पक्षबीच उत्पन्न विवादले उग्र रूप लिएपछि कार्यक्रमस्थलमै हात हालाहाल भएको थियो। त्यसपछि विवाद थप चर्किँदै वीरगञ्ज हेल्थ केयर अस्पताल परिसरमा समेत दुवै पक्षबीच कुटपिट भएको बताइएको छ।झडपमा घाइते भएकामध्ये सात जनालाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
अन्य घाइतेहरूको भने विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।घटनाबारे प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उक्त घटना पार्टीभित्रको विवाद नभई दुई पक्षबीचको आपसी विवादका कारण भएको बताएका छन्।यसैबीच, झडपका क्रममा प्रहरीमाथि समेत हातपात भएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा सांसद रहबर अन्सारीको पनि उपस्थिति रहेको बताइए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
विवाद बढेपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ।घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन प्रहरीले भलुही क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। ठूलो संख्यामा प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।घटनाको कारण, घाइतेको यकिन संख्या तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ।




