बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा नवनिर्मित श्रीकृष्ण मन्दिरको उद्घाटनसँगै सातदिने ‘श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव’ आयोजना हुने भएको छ। मंसिर १० देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाल तथा भारतका धर्मगुरु, साधुसन्त र हजारौँ भक्तजन सहभागी हुने आयोजकले जनाएको छ।
महोत्सवको तयारीबारे जानकारी दिन शनिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले धार्मिक अनुष्ठान, अतिथि व्यवस्थापन तथा महोत्सवको उद्देश्यबारे जानकारी गराएको हो।
करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको विशाल मन्दिरलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। महोत्सवका क्रममा श्रीमत्तारतम सागरको १२५ पारायण वाचनसहित विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ।
महोत्सव मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान भव्य कलश यात्रा निकालिनेछ। सोही दिन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको उपस्थितिमा नवनिर्मित मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
महोत्सवमा धर्मगुरु आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीबाट आशीर्वचन प्रदान गरिनेछ। भारतका श्री १०८ नवतनपुरी धाम, श्री १०८ महामंगलपुरी धाम र श्री १०८ पद्मावतीपुरी धामबाट महन्त, साधुसन्त, पण्डित, प्रचारक तथा विदुषीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
सात दिनसम्म सञ्चालन हुने महोत्सवमा चौरासी पूजा, व्रतबन्धलगायतका धार्मिक अनुष्ठान पनि गरिनेछन्। १२५ पारायण सेवाका लागि आवश्यक ब्रह्ममुनीहरूको चयनसमेत भइसकेको छ।
महोत्सवमा देशका विभिन्न स्थानबाट दैनिक करिब १५ हजार भक्तजन आउने आयोजकको अनुमान छ। आगन्तुकहरूको व्यवस्थापनका लागि दैनिक तीन हजार जनालाई बसोबास गराउन सकिने व्यवस्था मिलाइएको मूल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार भक्तजन तथा पाहुनाहरूलाई स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल र स्थानीयवासीका निजी आवासमा राख्ने व्यवस्था गरिएको छ।
आयोजकले महोत्सव सञ्चालनका लागि करिब डेढ करोड रुपैयाँ खर्च हुने र पाँच करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेको छ। महोत्सवबाट बचत भएको रकमले मन्दिर आसपासको जग्गा खरिद गरी ‘बाबाजी लक्ष्मीधाम’ मा गुरुकुल सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा–४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले महोत्सवलाई सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरे। उनले यस्ता धार्मिक कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षणसँगै यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा श्री १०८ सुरेन्द्र महाराजजी, यमनाथ भट्ट, उषा घिमिरे, प्रलाद शास्त्री, घनश्याम शास्त्री, पुरुषोत्तम शास्त्री, श्याम शास्त्री, मधुसुधन सिटौला तथा युवा समाजसेवी श्यामबाबु गुप्तालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सुमनप्रसाद सुवेदीले गरेका थिए।




