रञ्जन यादब /बारा २० असोज
मधेश प्रदेशमा उच्च शिक्षाको सुधार, राष्ट्रिय योग्यता प्रारुपको कार्यान्वयन तथा उच्च शिक्षाको भविष्यका विषयमा बाराको सिमरामा उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा युनेस्को नेपालको सहकार्यमा असोज १९ र २० गते आयोजित दुईदिने कार्यक्रम विभिन्न सरोकारवालाबीच उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गर्दै सम्पन्न भएको हो ।

कार्यक्रमको समापन समारोहमा नेपाल सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीको संख्या उल्लेख्य रहेको बताउनुभयो । काठमाडौंमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीमध्ये ठूलो संख्या मधेश प्रदेशका रहेको उल्लेख गर्दै उहाँले प्रदेशमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।मधेश प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ कलेज तथा आवश्यक शैक्षिक पूर्वाधारको अभावका कारण विद्यार्थीहरू उच्च शिक्षाका लागि काठमाडौंलगायत अन्य क्षेत्रमा जानुपर्ने अवस्था रहेको मन्त्री पोखरेलको भनाइ थियो ।

प्रदेशमै गुणस्तरीय र प्रतिस्पर्धी शैक्षिक संस्था स्थापना गर्न सके विद्यार्थीको पलायन घट्नुका साथै मधेशको शैक्षिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।सरकारले मधेश प्रदेशको महोत्तरीमा गुणस्तरीय कलेज स्थापना गर्ने तयारी अघि बढाएको जानकारी दिँदै मन्त्री पोखरेलले त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्दै स्थानीय आवश्यकता र रोजगारी बजारसँग जोडिने गरी उच्च शिक्षा विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको चाहनाअनुसार मधेश प्रदेशमा एक सय वटा ‘वल्र्ड क्लास’ तहका विद्यालय निर्माण गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । नयाँ विद्यालय स्थापना गर्ने तथा सञ्चालनमा रहेका विद्यालयलाई आवश्यक पूर्वाधार, प्रविधि र शैक्षिक गुणस्तरका आधारमा सुधार गरी विश्वस्तरीय बनाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।उहाँले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई गुणस्तरीय, सीपमूलक, प्रविधिमैत्री र रोजगारमुखी बनाउन आवश्यक रहेको बताउँदै बदलिँदो समयअनुसार शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा उच्च शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद्, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधि, सरकारी निकायका अधिकारीलगायत सरोकारवालाको सहभागिता रहेको थियो
। कार्यक्रममा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने २६ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय योग्यता प्रारुपमार्फत विभिन्न तहका शैक्षिक योग्यता तथा सीपलाई व्यवस्थित र समकक्षीकरण गर्ने विषयमा समेत छलफल गरिएको थियो ।मधेश प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक नीति, पूर्वाधार र जनशक्ति विकासका विषयमा कार्यक्रम केन्द्रित रहेको आयोजकले जनाएको छ ।




