रञ्जन यादब /बारा, २१ असोज
जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेला गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि कुल अभिभावक संख्याको कम्तीमा २५ प्रतिशत उपस्थित हुनुपर्ने व्यवस्था भए पनि आवश्यक संख्या नपुगेपछि भेला स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि भेला स्थगित गरिएको हो।
विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन सञ्चालनमा रहेकाले व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यका लागि कक्षा १२ उत्तीर्ण अभिभावक हुनुपर्ने प्रावधानका कारण पनि आवश्यक संख्यामा अभिभावक उपस्थित गराउन कठिनाइ भएको बताइएको छ।
विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी व्यवस्थाअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकमध्ये चार जना सदस्य रहने र उनीहरूमध्येबाट एक जनालाई व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने प्रावधान रहेको कार्यक्रममा जानकारी गराइएको थियो।
भेलामा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि अभिभावक, शिक्षक र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। विद्यालय व्यवस्थापन समिति गठन गर्दा विद्यालयको हित र विद्यार्थीको शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख शिवजी साहले प्रचलित कानुनी व्यवस्था र आवश्यक प्रक्रिया पूरा गरेर मात्रै विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने बताउनुभयो। उहाँले पर्याप्त अभिभावक सहभागिता सुनिश्चित गरी समिति गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
भेलाको अध्यक्षता जीतपुरसिमरा–७ का वडाध्यक्ष सुनिल गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य सीता उप्रेती, नुरुल्लाह अन्सारी, समाजसेवी खेदु प्रसाद कलवार, अभिभावक तथा शिक्षकहरूको सहभागिता थियो।
शिक्षक चुडामणि शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक रामबहादुर चौधरीले गर्नुभएको थियो।




