आर्मीको शानदार जित, कुर्सेङमाथि ७–० को फराकिलो विजय

बाराको सिमरा रंगशालामा जारी जीतपुरसिमरा महिला फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा आर्मीले भारतको दार्जिलिङस्थित कुर्सेङ गर्ल्स फुटबल एकेडेमीलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिक पूरा गरिन्। खेलको सुरुदेखि नै कुर्सेङमाथि दबाब कायम गरेको आर्मीले पहिलो हाफमै चार गोल गर्दै जितको आधार तयार पारेको थियो। सुक्रिया मियाले दुई तथा तुलसा बोहोरा र चन्द्रा भण्डारीले समान एक गोल गरे।

दोस्रो हाफमा पनि आर्मीले आक्रमणलाई निरन्तरता दिँदा चन्द्राले थप दुई गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरिन्। कुर्सेङकी कृतिका राईबाट आत्मघाती गोलसमेत भएपछि आर्मीले ७–० को शानदार जित निकाल्यो।

उत्कृष्ट प्रदर्शन गरेकी चन्द्रा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन्। उनले पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ प्राप्त गरिन्।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल मंगलबार हुनेछ। उक्त खेलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतको झारखण्ड स्टेट स्पोर्ट्स प्रोमोसन सोसाइटी, राँचीसँग प्रतिस्पर्धा गर्नेछ।