तीन नम्बर पुलमा घरटहरा भत्काउन पुगेको डोजर फर्कियो, स्थानीयको पक्षमा उभिए जनप्रतिनिधि

रञ्जन यादब /बारा १२ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुल आसपास पुनः निर्माण गरिएका घरटहरा हटाउन पुगेको डिभिजन वन कार्यालय बाराको टोली सोमबार कारबाही नगरी फर्किएको छ।
वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र डोजरसहित बिहानै पुगेको टोलीलाई स्थानीय तथा जनप्रतिनिधिले चाडपर्वको समयमा बस्ती हटाउँदा समस्या हुने भन्दै तत्काल कारबाही नगर्न आग्रह गरेका थिए। पर्व सकिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित पक्षबीच छलफल गरेर मात्रै घरटहरा हटाउने विषयमा निर्णय गर्नुपर्ने उनीहरूको माग थियो।

जनप्रतिनिधि र स्थानीयको आग्रहपछि तत्कालका लागि घरटहरा भत्काउने काम रोकिएको हो। यद्यपि वन कार्यालयले भने पुनः निर्माण गरिएका संरचना हटाउने निर्णयबाट पछि नहटेको स्पष्ट पारेको छ।
डिभिजन वन कार्यालयका वन अधिकृत ललन राउत कुर्मीले उक्त क्षेत्र अतिक्रमित तथा नकारात्मक सूचीमा परेको क्षेत्र भएकाले त्यहाँ घरटहरा बनाएर बसोबास वा व्यापारिक गतिविधि सञ्चालन गर्न नमिल्ने बताए।
‘यो अतिक्रमित क्षेत्र हो। यहाँ घरटहरा बनाएर बस्न र व्यापार गर्न पाइँदैन,’ कुर्मीले भने, ‘आज नभए भोलि हट्छ नै। त्यसैले स्थानीय आफैंले समयमै खाली गर्नु उपयुक्त हुन्छ।’

उनका अनुसार जनप्रतिनिधिको अनुरोधलाई ध्यानमा राखेर केही समयका लागि कारबाही रोकिएको हो। तोकिएको समयमा स्थानीयले संरचना नहटाए वन कार्यालयले पुनः टोली परिचालन गरेर हटाउने उनले बताए।
यसअघि गत जेठ १ गते डिभिजन वन कार्यालय र डिभिजन सडक कार्यालयको संयुक्त टोलीले तीन नम्बर पुल आसपास लामो समयदेखि रहेको बस्तीमा डोजर चलाएको थियो। सडक तथा वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका भन्दै करिब ४० वर्ष पुरानो बस्तीका ७२ वटा घरटहरा हटाइएको थियो।तर सरकारी टोलीले संरचना हटाएको केही समयमै स्थानीयले पुनः सोही क्षेत्रमा घरटहरा निर्माण गर्न थालेका थिए। त्यसपछि वन कार्यालयले पुनः संरचना हटाउने तयारी गरेको हो।

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जनप्रतिनिधिहरू नै घटनास्थलमा पुगेर केही समय दिन आग्रह गरेपछि सम्भावित मुठभेडको अवस्था आउन नदिन तत्कालका लागि टोली फिर्ता गरिएको बताए।
उनले घरटहरा स्थायी रूपमा राख्न दिने निर्णय नभएको स्पष्ट पार्दै केही दिनको समय मात्र दिइएको बताए। ‘घरटहरा नहटाउने भन्ने होइन, केही दिनका लागि समय दिइएको हो,’ अधिकारीले भने, ‘दिएको अवधिभित्र खाली नभए डोजर लगाएर हटाइनेछ। यसको अर्को विकल्प छैन।’

पूर्ववत् रूपमा खाली गराइएको क्षेत्रमा पुनः संरचना निर्माण गर्नु उचित नभएको भन्दै उनले स्थानीयलाई तोकिएको समयभित्रै क्षेत्र खाली गर्न आग्रह गरे।डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले पनि स्थानीयलाई केही समयका लागि मौका दिएर टोली फर्काइएको बताए। तोकिएको समयभित्र घरटहरा नहटाइए वन कार्यालयले आवश्यक कारबाही अघि बढाउने उनको भनाइ छ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले भने घरटहरा हटाउँदा त्यहाँ आश्रित साना व्यवसायी तथा स्थानीयको जीविकोपार्जन प्रभावित हुने भएकाले वैकल्पिक व्यवस्थाबारे पनि सोच्नुपर्ने बताए।वडा नं. २१ का अध्यक्ष सुवास श्रेष्ठले लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयलाई एकैपटक विस्थापित गर्नु उचित नहुने बताए। उनले बस्ती हटाउनेभन्दा स्थानीयको जीवनयापनलाई ध्यानमा राखेर व्यवस्थापनको विकल्प खोजिनुपर्ने बताए।वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बाले पनि बस्तीलाई पूर्ण रूपमा हटाउनेभन्दा व्यवस्थित गर्ने उपाय खोज्न सरकारसँग आग्रह गरे।

घरटहरा हटाउने क्रममा स्थानीय र वन कार्यालयबीच तनाव बढ्न सक्ने अवस्था देखिएपछि उपमहानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि घटनास्थलमा पुगेका थिए। वडाध्यक्षहरू हिराबहादुर गुरुङ, धनबहादुर श्रेष्ठ, भोजबहादुर खत्री, दीपेन्द्र चौधरी, श्यामबाबु खाँ, हेमनारायण चौधरी, हरिदेव खरेललगायत जनप्रतिनिधिले वन कार्यालयको टोलीसँग छलफल गरेका थिए।वन अधिकृत ललन राउत कुर्मी र मधुकान्त सिंहको नेतृत्वमा वनरक्षक तथा कर्मचारीहरू घरटहरा हटाउन पुगेका थिए। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा ७० भन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको थियो।

यसैबीच, सुरक्षाका लागि पथलैयासम्म पुगेको सशस्त्र प्रहरीको टोलीलाई भने स्थानीय तथा जनप्रतिनिधिले केही समय मागेपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले तत्काल घटनास्थलतर्फ नआउन निर्देशन दिएका थिए।
यसरी सोमबार तत्कालका लागि तीन नम्बर पुल आसपासका पुनःनिर्मित संरचना भत्काउने काम रोकिए पनि वन तथा प्रशासनले संरचना हटाउने निर्णय भने यथावत् रहेको स्पष्ट पारेका छन्।