रञ्जन यादव /बारा ११ असोज
सशस्त्र प्रहरी बल ,नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुखालय महोत्तरीका बाहिनीपति (डीआईजी) विष्णु भट्टले बारामा विभिन्न क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गर्दै सशस्त्र प्रहरीले गरिरहेका काम तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा राय–सुझाव लिएका छन् ।
बाराको कलैया उपमहानगरपालिका–१६ दक्षिण झिट्कैयास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टरमा आइतबार आयोजित समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डीआईजी भट्टले सीमा अपराध, चोरी–पैठारी, लागूऔषध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउँनुभयो ।अन्तरक्रियाका क्रममा सहभागीहरूले सीमा सुरक्षा, शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद्का समयमा सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका तथा नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए ।

सहभागीहरूले सशस्त्र प्रहरीको सेवा प्रवाह र कार्यसम्पादनका क्रममा देखिएका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे समेत आफ्ना धारणा राखेका थिए । उनले सीमा क्षेत्रमा हुने गतिविधिबारे सुनेको भरमा नभई प्रमाणसहित सूचना उपलब्ध गराउन नागरिकलाई आग्रह गरे। सीमा सुरक्षामा नागरिक, व्यवसायी, सञ्चारकर्मी, राजनीतिक दल तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो। डीआईजी भट्टले सशस्त्र प्रहरीको आन्तरिक शुद्धीकरणमा समेत कडाइ गरिएको दाबी गरे। सीमा क्षेत्रमा खटिएका प्रहरी कर्मचारीमाथि अनियमितताको सूचना आए प्रमाणका आधारमा कारबाही गरिने बताउँदै उनले गलत कार्यमा संलग्न बाराका सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको जानकारी दिए।
“हामीले एक रुपैयाँ पनि खाँदैनौँ। सशस्त्र प्रहरीबाट पैसा मागेको वा खाएको सूचना भए प्रमाणसहित दिनुहोस्,” उनले भने।उनले सीमा क्षेत्रमा चोरी–पैठारी न्यूनीकरण गर्न भारतीय समकक्षी एसएसबीसँग समन्वयलाई प्रभावकारी बनाइने बताए। सीमा स्तम्भको अभिलेख राख्ने, मर्मतसम्भार गर्ने, सीमा क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउने तथा सीमामा बसोबास गर्ने नागरिकको सुरक्षामा ध्यान दिने विषयलाई समेत प्राथमिकतामा राखिएको उनले बताए।डीआईजी भट्टले बारामा करिब ६० किलोमिटर खुला सीमा रहेको र जिल्लामा सीमा अपराध नियन्त्रण चुनौतीपूर्ण रहेको बताए ।
उनका अनुसार मटिअर्वा नाका लागूऔषध ओसारपसारका दृष्टिले बढी संवेदनशील क्षेत्रका रूपमा देखिएको छ।“सबैभन्दा बढी ड्रगिष्ट हिँड्ने ठाउँ मटिअर्वा हो,” उनले भने।सीमा क्षेत्रमा लागूऔषध तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाउनुका साथै सीसीटीभी क्यामेरा व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए। सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि स्थानीय तह, व्यवसायी र नागरिकसँग निरन्तर सहकार्य गरिने उनको भनाइ थियो।उनले नदी तथा विपद्का घटनामा उद्धारका लागि पूर्वतयारी गरिएको जानकारी दिँदै सशस्त्र प्रहरीको गोताखोर टोलीको क्षमता वृद्धि गरिएको बताए। सीमा सुरक्षासँगै विपद् व्यवस्थापन र नागरिकको सुरक्षालाई पनि सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको उनले बताए।कार्यक्रममा सहभागी व्यवसायी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले सीमावर्ती बजारबाट भारतीय सामान भित्रिने क्रमले स्थानीय व्यवसायमा परेको प्रभाव, सीमा सुरक्षामा देखिएका समस्या तथा व्यापार सहजीकरणका विषय उठाएका थिए।
कलैया बजारका पसलमा ठूलो मात्रामा भारतीय सामान बिक्री हुने गरेको विषयसमेत छलफलमा उठेको थियो।डीआईजी भट्टले सशस्त्र प्रहरी समाजमै रहेको सुरक्षा निकाय भएकाले नागरिकको साथ, सहयोग र समन्वयबिना प्रभावकारी रूपमा अघि बढ्न नसकिने बताए । उनले नागरिक तथा सरोकारवालाबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा लिँदै सशस्त्र प्रहरीको कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।उनले सुरक्षा चुनौती सामना गर्न सुरक्षा निकाय र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समाजका विभिन्न वर्ग र समुदायसँग निरन्तर संवाद र समन्वय गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेन्जी युवा, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले जिल्लाको समग्र शान्ति–सुरक्षा र सीमा क्षेत्रमा देखिएका समस्याबारे डीआईजी भट्टको ध्यानाकर्षण गराउँदै समाधानका लागि आवश्यक पहल गर्न सुझाव दिएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीलगायतको उपस्थिति रहेको थियो।




