रञ्जन यादब /बारा १३ असोज
बाराको कलैयामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पार्टी एकतापछि संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यक्रमस्थलमा राखिएको ब्यानर पढेर गरेका थिए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपालको हरेक ऐतिहासिक राजनीतिक परिवर्तनमा मधेशको भूमिका अग्रणी रहँदै आएको बताए। मधेशमा उठेका राजनीतिक तथा सामाजिक मुद्दाहरू नै विगतमा राष्ट्रिय राजनीतिका प्रमुख मुद्दा बन्ने गरेको उनको भनाइ थियो।
प्रचण्डले पछिल्लो समय राजनीतिक बहसको स्वरूपसमेत परिवर्तन हुँदै गएको टिप्पणी गरे। उनले भने, ‘पहिला–पहिला बुथ कब्जा हुन्थ्यो, अहिले मानिसको दिमाग कब्जा हुन थालेको छ।’मोबाइल तथा सामाजिक सञ्जालमार्फत बिहानदेखि बेलुकासम्म निरन्तर देखाइने नकारात्मक सामग्रीले मानिसको सोच र धारणामा प्रभाव पारिरहेको उनले बताए। पुराना सबै पार्टी खराब र नयाँ सबै पार्टी राम्रा हुन् भन्ने धारणा जनताको दिमागमा निर्माण गर्ने प्रयास भइरहेको भन्दै उनले राजनीतिक दल र तिनले गरेका योगदानको वस्तुनिष्ठ मूल्यांकन आवश्यक रहेको बताए।उनले विगतका राजनीतिक दल तथा नेतृत्वले ल्याएका परिवर्तन, गरेको योगदान र विकास निर्माणका कामलाई बिर्सन नहुने धारणा राखे। राजनीतिक परिवर्तनलाई केवल पछिल्लो घटनाक्रमका आधारमा मूल्यांकन गर्दा विगतका उपलब्धि ओझेलमा पर्न सक्ने उनको भनाइ थियो।

पछिल्लो निर्वाचनमा कुनै एउटा राजनीतिक दलले बढी संख्यामा जित हासिल गरेको भए पनि ‘जेनजी’ आन्दोलनपछि संविधानको संरक्षण गर्न आफूहरू सफल भएको प्रचण्डले दाबी गरे। उनले त्यसलाई नेकपाको राजनीतिक उपलब्धिका रूपमा व्याख्या गरे।उनले वर्तमान संसदमा देखिने महिला, अपाङ्गता भएका व्यक्ति, मधेशी, जनजाति लगायत विभिन्न समुदायको प्रतिनिधित्व संविधान र जनयुद्धबाट प्राप्त उपलब्धिको परिणाम भएको बताए। राजनीतिक परिवर्तनले राज्यका विभिन्न संरचनामा पछाडि पारिएका समुदायको सहभागिताको बाटो खोलेको उनको भनाइ थियो।

प्रचण्डले मधेशसहित देशका विभिन्न क्षेत्रका जनताले बालेन्द्र साहलाई ठूलो अपेक्षाका साथ समर्थन गरेको बताए। मधेशका जनताले ‘मधेशको बेटा’ प्रधानमन्त्री बन्न सक्ने अपेक्षासहित बालेन्द्र साहलाई समर्थन गरेको उल्लेख गर्दै उनले बालेन्द्र प्रधानमन्त्री भएपछि मधेशको हित र अधिकारका विषयमा अपेक्षाअनुकूल भन्दा प्रतिकुल हुने काम गरिरहेको आरोप लगाए । कार्यक्रममा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी संख्यात्मक रूपमा सानो भए पनि विचारका हिसाबले ठूलो रहेको बताए। विचार, नीति र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने पार्टीका रूपमा नेकपालाई स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
नेपालले पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता र नेकपामाथि विश्वास गर्ने जनतालाई धन्यवाद दिँदै आगामी दिनमा संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरे। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले पार्टीको अवस्था बलियो बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर काम गर्नुपर्ने बताए। उनले नेता तथा कार्यकर्तालाई मनोबल उच्च राख्दै संगठन निर्माण, जनताको समस्या समाधान तथा पार्टीका विचार र नीतिलाई जनस्तरसम्म पु¥याउन सक्रिय हुन आग्रह गरे। नेपालले विगतका सरकार तथा प्रधानमन्त्रीहरूको पालामा भएका उपलब्धिलाई समेत बिर्सन नहुने बताए।
मानिसको औसत आयु वृद्धि, सडक तथा पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा विगतका सरकारहरूले गरेका कामको समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो। बारा जिल्ला संयोजक गिता कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका मधेश प्रदेश ईन्चार्ज महेन्द्र राय यादब , मधेशी मोर्चाका अध्यक्ष मातृका यादब लगायत अन्य केन्द्रीय तथा स्थानीय नेताहरूले पार्टी एकतालाई व्यवहारमा कार्यान्वयन गर्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन संगठनात्मक गतिविधि तीव्र पार्ने प्रतिबद्धता जनाएका थिए।




