कलैयामा भन्सार छली ल्याइएको १३ लाखभन्दा बढीको मोबाइल पार्ट्स बरामद

बारा प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको मोबाइल पार्ट्स बरामद गरेको छ। कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा क्षेत्रबाट शनिबार सशस्त्र प्रहरीले मोबाइल पार्ट्ससहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

भारतबाट मोटरसाइकलमा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाबाट खटिएको टोलीले उक्त सामान फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार बरामद मोबाइल पार्ट्सको अनुमानित मूल्य रु. १३ लाख ३८ हजार रहेको छ। सामान ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणी अधिकारीले बरामद सामान र मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।