रञ्जन यादब /बारा ११ असोज
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको परिसरमा आयोजित शिविरको उद्घाटन उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारीले गरेका थिए। शिविर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराकी प्रमुख ब्रह्माकुमारी मधु दिदीको अध्यक्षतामा सम्पन्न भएको हो।
शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्षेत्रका अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श दिएका थिए।डा. रविन्द्र कुमार सिहँले सामान्य तथा विभिन्न रोगसम्बन्धी परीक्षण गरेका थिए। डा. पशुपतीनाथ भट्टले युरोलोजी, प्रोस्टेट तथा मिर्गौलासम्बन्धी, डा. अशोक दासले बालरोग, डा. पन्नालाल प्रसादले नाक, कान तथा घाँटीसम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए।

त्यस्तै, डा. नवीन कुशवाहले मुटु, थाइराइड तथा मधुमेह, डा. अनि पाण्डेले स्त्रीरोग, डा. मुकुन्द यादवले शल्यक्रिया तथा सर्जरी, डा. अरविन्द साहले हाडजोर्नी तथा नसासम्बन्धी, डा. मिथिलेश कुशवाहले आँखासम्बन्धी तथा डा. उषा महतोले दाँत, मुख तथा गिजासम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए।शिविरमार्फत स्थानीय नागरिकले एउटै स्थानमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श लिने अवसर पाएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराका परमेश्वर श्रेष्ठले जानकारी दिए।

निःशुल्क स्वास्थ्य शिविरले आर्थिक तथा भौगोलिक कारणले विशेषज्ञ स्वास्थ्य सेवा लिन कठिनाइ हुने स्थानीय नागरिकलाई समेत सहज रूपमा स्वास्थ्य परीक्षण तथा परामर्शको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।




