जीतपुर प्रहरीद्वारा घरमा छापा , गाँजा सहित एक जना पक्राउ

 

रञ्जन यादव / बारा ०८ असाेज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ः४० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३६ वर्षीय जयनारायण चौधरीलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो।

चौधरीको घरआँगनमा खानतलासी गर्दा १५ पुरीयामा राखिएको ३२० ग्राम तथा कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्लास्टिकसहित बरामद पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक  उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इप्रका जीतपुरमा ल्याएको हो। घटनास्थल इलाका प्रहरी कार्यालय जीतपुरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वमा पर्छ।

प्रहरी स्रोतका अनुसार चौधरी यसअघि पनि गाँजा कारोबारसम्बन्धी घटनामा पक्राउ पर्दै आएका व्यक्ति हुन्। विगतमा गाँजा मुद्दामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेको र पुनः सोही प्रकृतिको घटनामा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

 चौधरीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।