सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न जीतपुरसिमरा नगर अस्पताललाई अनुमति

रञ्जन यादव /बारा ०७ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालमा अब सर्पदंशका बिरामीको उपचार हुने भएको छ। अस्पतालले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औपचारिक स्वीकृति प्राप्त गरेको छ।
महाशाखाले अस्पतालको स्थलगत अनुगमन गरी आवश्यक पूर्वाधार, जनशक्ति तथा उपचारसम्बन्धी मापदण्ड पूरा भएको निष्कर्ष निकालेपछि केन्द्र सञ्चालनको अनुमति दिएको हो। ‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धी मापदण्ड, २०७७’ अनुसार अस्पताललाई २०८३ असोज ५ देखि २०८७ असोज ४ गतेसम्म केन्द्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले केन्द्र सञ्चालनका लागि गरेको पहलपछि महाशाखाले अस्पतालको अनुगमन गरेको थियो। अनुगमनका क्रममा तोकिएका मापदण्ड पूरा भएको पाइएपछि महाशाखाका निर्देशक डा. अनुज भट्टचनद्वारा प्रमाणित अनुमति पत्र अस्पताललाई उपलब्ध गराइएको हो।
जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार अस्पतालबाट सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको देखिएपछि अनुमति प्रक्रिया अघि बढाइएको हो। उहाँका अनुसार जीतपुरसिमरा नगर अस्पताललाई अन्य संस्थाको तुलनामा छिटो सेवा सञ्चालन गर्न सकिने गरी आवश्यक समन्वय गरिएको थियो।

सर्पदंश उपचारका लागि आवश्यक तालिममा अस्पतालका स्वास्थ्यकर्मीलाई विशेष व्यवस्थामार्फत सहभागी गराइएको पोखरेलले बताउनुभयो। अब प्रदेश सरकारबाट एन्टिभेनमलगायत आवश्यक औषधि प्राप्त भएपछि अस्पतालबाट नियमित रूपमा सर्पदंश उपचार सेवा सुरु गरिने उहाँको भनाइ छ। स्थानीय तहमा सर्पदंश उपचार केन्द्रको माग भने केही महिनाअघि सुप्रिया दोङ र दियनशी राना मगरको सर्पदंशका कारण मृत्यु भएपछि थप चर्किएको थियो। समयमै उपचार नपाउँदा बालिकाहरूको मृत्यु भएपछि स्थानीयवासीले जीतपुरसिमरामै सर्पदंश उपचारको व्यवस्था गर्न माग गर्दै आएका थिए।

सर्पदंशको उपचारका लागि वीरगञ्जलगायतका अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको जीतपुरसिमरा र आसपासका बासिन्दाका लागि नगर अस्पतालमै सेवा सुरु भएपछि उपचारमा हुने समयको बचत हुने अपेक्षा गरिएको छ। विशेषगरी सर्पदंशपछि उपचारमा हुने ढिलाइले गम्भीर अवस्था निम्त्याउन सक्ने भएकाले स्थानीयस्तरमै उपचार सुविधा उपलब्ध हुनु महत्वपूर्ण मानिएको छ।