कांग्रेस जीतपुरसिमरा नगर सभापतिमा रमेश पण्डित निर्विरोध

रञ्जन यादव /बारा ०९ असोज

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका नगर समितिको सभापतिमा रमेश पण्डित निर्विरोध निर्वाचित भएका छन्। सभापतिका अर्का प्रत्याशी छविलाल शर्माले उम्मेदवारी फिर्ता लिएर पण्डितलाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।पार्टीको नगर अधिवेशनअन्तर्गत पण्डित र शर्माले बिहीबार राति सभापति पदमा उम्मेदवारी दर्ता गरेका थिए। शुक्रबार बिहान ११ः३० बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका रहे पनि अन्तिम समयमा दुवै पक्षबीच सहमति जुटेपछि मतदान गर्नुपर्ने अवस्था आएन।

सभापतिसहित नगर समितिका पदाधिकारीमा पनि पण्डित पक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत सूर्यजीत सिंहका अनुसार नगर उपसभापतिमा उदयबहादुर श्रेष्ठ, महिला उपसभापतिमा ज्ञानीदेवी पासवान, सचिवमा विनोद अधिकारी र सहसचिवमा दीपक दाहाल निर्विरोध निर्वाचित भएका छन्।

नगर समितिमा निर्वाचित हुनुपर्ने कुल ५३ सदस्यमध्ये पाँच पदाधिकारीसहित २२ जना निर्विरोध निर्वाचित भएका छन्। बाँकी सदस्यहरू नगर समितिले मनोनयन गर्ने जनाइएको छ।निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रमाणपत्र वितरण गरेका थिए।