जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, शैक्षिक गुणस्तर सुधारमा उपमहानगरको पहल

रञ्जन यादब /बारा २५ साउन

जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले ‘उज्यालो परियोजना’ सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा सूर्य नेपाल प्रालिको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब ६५ लाख रुपैयाँको लागतमा परियोजना सञ्चालन हुन लागेको हो। शून्य शैक्षिक गरिबी अर्थात् ‘जिरो एजुकेशन पोभर्टी–जेडईपी’ अवधारणामा आधारित परियोजना कार्यान्वयनका लागि युनाइटेड वल्र्ड स्कुल्स नेपाल, जीतपुरसिमरा उपमहानगरपालिका र परियोजनामा सहभागी विद्यालयहरूबीच त्रिपक्षीय सम्झौता भएको छ।

यो परियोजना लागु भएको बिद्यालयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० स्थित श्री ने.रा.अधारभुत बिद्यालय नितनपुर र श्री ने.रा.अधारभुत बिद्यालय बेहेरा बलुवा , वडा नं.२० स्थित बिक्रम अधारभुत बिद्यालय बसतपुर र दुलारीमाई अधारभुत बिद्यालय बस्डिलवा रहेका छन् । त्यस्तै वडा नं.११ स्थित श्री ने.रा.अधारभुत बिद्यालय अमाडार र श्री ने.रा.अधारभुत बिद्यालय खैरवा रहेका छन् । वडा नं.८ स्थित श्री ने.रा.आधारभुत बिद्यालय लोसन्डा र वडा नं.६ स्थित श्री ने.रा. आधारभुत बिद्यालय नगौल रहेको छ । सम्झौतापत्रमा युनाइटेड वल्र्ड स्कुल्स नेपालको तर्फबाट अख्तियारप्राप्त अशोक घिमिरे, उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख राजन पौडेल तथा सहभागी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्तान्तरण कार्यक्रममा नगरप्रमुख पौडेलले उपमहानगरपालिकाले गरेको सर्वेक्षणमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सामाजिक तथा आर्थिक अवस्थाबीच ठूलो अन्तर देखिएको बताउनुभयो। उहाँका अनुसार मध्यम तथा उच्च वर्गका परिवारका बालबालिका संस्थागत विद्यालयमा अध्ययन गर्ने र दलित, विपन्न तथा मुस्लिम समुदायका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अवस्था देखिएको छ।सर्वेक्षणले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ अवस्था कमजोर रहेकोसमेत देखाएको नगरप्रमुख पौडेलले बताउनुभयो। कक्षा ३ मा सिक्नुपर्ने आधारभूत कुरा कक्षा ८ सम्म पुग्दासमेत विद्यार्थीले सिक्न नसकेको अवस्था देखिनु गम्भीर विषय भएको उहाँको भनाइ थियो।नगरप्रमुख पौडेलले ‘उज्यालो परियोजना’को उद्देश्य सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउनु मात्र नभई विद्यालयमा अध्ययनरत बालबालिकालाई आधारभूत रूपमा पढ्न, अक्षर चिन्न, लेख्न र सिक्न सक्ने बनाउनु रहेको स्पष्ट पार्नुभयो।

परियोजनाले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्दै आधारभूत तहको शिक्षालाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो।परियोजनाअन्तर्गत सहभागी विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक तथा प्रधानाध्यापकको क्षमता अभिवृद्धि, शिक्षण–सिकाइ सामग्रीको प्रयोग र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ। विद्यार्थी तथा शिक्षकको नियमित उपस्थिति सुनिश्चित गर्ने, विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने तथा अभिभावक र समुदायको सहभागिता बढाउने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।विद्यालय सुधार अभियानमा अभिभावक र समुदायको सक्रिय सहभागिता बढाउन आमा समूह, छात्रा समूह तथा विद्यालय अवधारणा टोलीजस्ता संरचना निर्माण तथा परिचालन गरिनेछ।

परियोजनाले बाल संरक्षण र सुरक्षालाई समेत प्राथमिकतामा राख्दै विद्यालयमा हुने हिंसा तथा दुव्र्यवहारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ।तीनै पक्षले सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि लागू हुने परियोजनाको अवधि एक वर्ष रहनेछ। परियोजनामार्फत जीतपुरसिमरा उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्दै आधारभूत शिक्षाको स्तर उकास्ने लक्ष्य लिइएको छ।सम्झौता हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखा अधिकृत हरिश भट्टसहित सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो।