रञ्जन यादब /बारा २४ साउन
आन्तरिक राजस्व कार्यालय बारा, सिमराले आर्थिक वर्ष २०८२÷८३ मा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि गरेको छ। कार्यालयका अनुसार आव २०८१÷८२ को तुलनामा गत आर्थिक वर्ष २०८२÷८३ मा कुल राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि भएको हो।कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा कार्यालयले १५ अर्ब २२ करोड ७७ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
आव २०८२÷८३ का लागि कार्यालयले २१ अर्ब ४ करोड ४४ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यको तुलनामा ८५ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।राजस्वका विभिन्न शीर्षकमध्ये आयकर सङ्कलनमा सबैभन्दा बढी वृद्धि भएको छ। आव २०८१÷८२ मा ८५ करोड १० लाख ९२ हजार रुपैयाँ आयकर सङ्कलन भएकामा आव २०८२÷८३ मा १०४.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड २२ लाख ३१ हजार रुपैयाँ पुगेको छ। आयकरतर्फ कार्यालयले निर्धारण गरेको २ अर्ब २२ करोड ९० लाख ७३ हजार रुपैयाँ लक्ष्यको ७८ प्रतिशत प्रगति हासिल भएको छ।त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८ करोड ७ लाख ४० हजार रुपैयाँ भ्याट सङ्कलन भएकोमा गत आर्थिक वर्षमा ४१.४६ प्रतिशतले वृद्धि भई १ अर्ब ५२ करोड ८८ लाख ८ हजार रुपैयाँ पुगेको छ। भ्याटतर्फ निर्धारित लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।राजस्व सङ्कलनको मुख्य हिस्सा भने अन्तःशुल्कले ओगटेको छ।
आव २०८१÷८२ मा १० अर्ब ४७ करोड ९२ लाख ६८ हजार रुपैयाँ अन्तःशुल्क सङ्कलन भएकोमा आव २०८२÷८३ मा ११.२९ प्रतिशतले वृद्धि भई ११ अर्ब ६६ करोड २० लाख ४७ हजार रुपैयाँ पुगेको छ। अन्तःशुल्कतर्फ कार्यालयले लक्ष्यको ९३ प्रतिशत प्रगति हासिल गरेको छ। राजस्व सङ्कलनमा वृद्धि भएसँगै करदाताको सङ्ख्यामा समेत उल्लेख्य विस्तार भएको छ। आव २०८१÷८२ मा कुल करदाता ८४ हजार ४८४ रहेकामा आव २०८२÷८३ मा १०.२ प्रतिशतले वृद्धि भई ९३ हजार १०९ पुगेका छन्।करदाताको सङ्ख्या बढ्नुमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या वृद्धि प्रमुख देखिएको छ। व्यक्तिगत प्यान लिने करदाताको सङ्ख्या ५७ हजार ७२७ बाट बढेर ६४ हजार ६०० पुगेको छ।त्यस्तै, आयकरमा दर्ता भएका करदाताको सङ्ख्या १५ हजार ५१८ बाट बढेर १६ हजार ४५४ पुगेको छ। भ्याटमा दर्ता भएका व्यवसायीको सङ्ख्या ९ हजार ५२४ बाट बढेर १० हजार २४५ पुगेको छ।
अन्तःशुल्कमा दर्ता भएका करदाताको सङ्ख्या पनि बढेको छ। आव २०८१÷८२ मा १ हजार ५६६ रहेको अन्तःशुल्क दर्ता करदाताको सङ्ख्या आव २०८२÷८३ मा बढेर १ हजार ६४८ पुगेको छ। त्यस्तै डब्लु प्यान लिने करदाताको सङ्ख्या १४९ बाट बढेर १६२ पुगेको छ।राजस्व सङ्कलनमा भएको वृद्धि र करदाताको दायरा विस्तारले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको तथा कर प्रशासनको पहुँच विस्तार हुँदै गएको सङ्केत गरेको छ। विशेषगरी आयकर र भ्याट सङ्कलनमा भएको उल्लेख्य वृद्धिले व्यवसाय तथा आर्थिक कारोबारमा सुधार आएको देखाएको छ।




