रञ्जन यादब /बारा २० असार
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट बरिष्ठ प्रहरी नायब निरिक्षक उमेश निरौलाको कमाण्डमा गएको प्रहरी टोलीले लल्का पुल नजिकबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन्। साँझ नियमित सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो।खानतलासीका क्रममा विकास चौधरीको साथबाट एक सय ९० मिलिग्राम खैरो हिरोइन र २५ दशमलव ५३ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बरामद लागूऔषधसहित दुवै जनालाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। विशेष गरी पूर्व–पश्चिम राजमार्ग तथा आसपासका क्षेत्रमा निगरानी बढाइएकाले यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।




