रञ्जन यादब/बिरगंज १२ मंशिर
उद्यमशीलतातर्फ आकर्षित गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले वीरगञ्जमा तीनदिने उद्यमशीलता विकास तालिम सञ्चालन भइरहेको छ। ‘उद्यमशाला परियोजना (युथ एक्सेलेरेसन प्रोग्राम)’ अन्तर्गत सञ्चालित तालिममा मधेस प्रदेशका सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका युवाहरू सहभागी छन्।
द कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, क्रिएसनको नेतृत्वदायी साझेदारी तथा स्थानीय कार्यान्वयन साझेदार कार्ड नेपालको आयोजनामा मङ्सिर ११ गतेदेखि सुरु भएको तालिम १३ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको दोस्रो दिन सहभागीहरूलाई उद्यमशीलता विकास, व्यावसायिक अवधारणा निर्माण, व्यवसाय योजना तयारी, बजार विश्लेषण, वित्तीय व्यवस्थापन तथा व्यवसाय विस्तारका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको छ। युवाहरूले आफूभित्र रहेका व्यावसायिक सोच र अवधारणालाई व्यवहारमा उतार्दै दिगो उद्यम स्थापना गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै कार्ड नेपालकी अध्यक्ष अन्जु कुमारी यादवले युवाहरूको क्षमता विकास र उद्यमशीलतामार्फत समृद्ध समुदाय निर्माण गर्ने अभियानमा क्रिएसन र कार्ड नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
तालिमपछि मङ्सिर १४ गते सहभागीहरूबीच व्यावसायिक प्रस्तुतीकरण तथा पिचिङ सेसन आयोजना गरिनेछ। उक्त सत्रमा सहभागीहरूले आफूले तयार पारेका व्यावसायिक अवधारणा, व्यवसाय योजना र भविष्यमा व्यवसाय विस्तारका सम्भावनाबारे निर्णायक मण्डलसमक्ष प्रस्तुति दिनेछन्।
प्रस्तुतीकरण र मूल्याङ्कनका आधारमा उत्कृष्ट तीनवटा व्यावसायिक अवधारणा वा व्यवसाय छनोट गरी अनुदान प्रदान गरिने क्रिएसनकी सिनियर प्रोग्राम अफिसर आसिना बरालले जानकारी दिनुभयो।
यस कार्यक्रमले मधेस प्रदेशका युवाहरूमा उद्यमशील सोचको विकास गर्नुका साथै आर्थिक आत्मनिर्भरता, स्वरोजगार सिर्जना र नवीन व्यावसायिक अवधारणालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।




