शिक्षा क्षेत्रमा सुर्य नेपालको निरन्तर लगानी ः सिमरा नमुना बिद्यालयले पायो थप साँत स्मार्ट बोर्ड

रञ्जन यादब /बारा १९ असार

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि. सिमराले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, सिमरालाई थप ७ थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। आयोजित कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठ ले विद्यालयका प्रधानाध्यापक शंकर आचार्य लाई स्मार्ट बोर्ड हस्तान्तरण गर्दै आधुनिक प्रविधिमा आधारित शिक्षाको विकासका लागि कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए।कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्थापक श्रेष्ठले अहिलेको युग सूचना तथा प्रविधिको युग भएकाले विद्यालयको सिकाइ वातावरण पनि पूर्ण रूपमा प्रविधिमैत्री हुनुपर्ने धारणा व्यक्त गरे। उनले कम्प्युटर तथा डिजिटल सीप आजको आधारभूत आवश्यकता बनेको उल्लेख गर्दै, “जति धेरै पढेलेखेको व्यक्ति भए पनि कम्प्युटर तथा डिजिटल प्रविधिको ज्ञान नभए आजको समयमा धेरै अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ,“ भने। उनले कृत्रिम बौद्धिकता (ए.आई) को तीव्र विकाससँगै च्याटजीपीटी , जेमिनी र क्लाउड जस्ता आधुनिक एआई प्रविधिको प्रयोग विश्वभर बढ्दै गएको उल्लेख गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीले पनि समयअनुसार आफूलाई अद्यावधिक गर्दै डिजिटल सीप विकास गर्नुपर्नेमा जोड दिए।

सूर्य नेपाल स्थापना भएको ४३ वर्ष पार गरिसकेको कुराहरु जानकारी दिदैँ कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जानकारी दिँदै श्रेष्ठले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक विकासमा योगदान पु¥याउने नीति अनुरूप कम्पनी अघि बढिरहेको बताए।उनका अनुसार सिमरा नमुना माध्यमिक विद्यालयमा यसअघि पनि सूर्य नेपालले प्रशासनिक भवन निर्माण, जीवविज्ञान (बायोलोजी) प्रयोगशाला निर्माण, कम्प्युटर उपलब्ध गराउने, ७ वटा स्मार्ट बोर्ड हस्तान्तरण गर्ने लगायतका विभिन्न सहयोग गरिसकेको छ। हाल विद्यालय परिसरमा इन्टरलक ब्लक बिछ्याउने तथा हरियाली (ग्रीनरी) प्रवद्र्धन गर्ने कार्यसमेत भइरहेको उनले जानकारी दिए।

प्रधानाध्यापक शंकर आचार्यले सूर्य नेपालले विद्यालयलाई निरन्तर रूपमा आधुनिक शैक्षिक सामग्री तथा पूर्वाधार उपलब्ध गराउँदै आएको भन्दै आभार व्यक्त गरे। उनले स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठामा विद्यार्थीको सिकाइ थप प्रभावकारी, आकर्षक तथा सहभागितामूलक बन्ने विश्वास व्यक्त गरे। साथै यस्ता प्रविधिमैत्री सामग्रीले डिजिटल शिक्षालाई विस्तार गर्न ठूलो सहयोग पुग्ने बताए। स्मार्ट बोर्डमार्फत शिक्षकले अडियो,भिडियो, प्रस्तुतीकरण, शैक्षिक सामग्री तथा अन्तरक्रियात्मक सिकाइ विधि प्रयोग गर्न सक्ने भएकाले विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी हुने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

यसै अवसरमा सूर्य नेपालले क्षेत्रका अन्य सामुदायिक शैक्षिक संस्थालाई पनि स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। कम्पनीले सिमरा कलेज लाई ४ थान, जनता माध्यमिक विद्यालयलाई २ थान , रजघट्टा माध्यमिक बिद्यालयलाई २ थान, डुमरवाना माध्यमिक विद्यालय लाई २ थान तथा पथलैया माध्यमिक विद्यालय लाई २ थान स्मार्ट बोर्ड उपलब्ध गराएको जनाएको छ । सूर्य नेपालले विगतदेखि नै शिक्षाको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण तथा सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। कम्पनीको यस सहयोगले जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालयहरूमा डिजिटल शिक्षाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख उप सचिव शिवजी प्रसाद ,वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ , सुर्य नेपालका प्रतिनिधि यज्ञ बहादुर आले ,उमेश थापा लगायतको सहभागिता रहेको थियो ।