रञ्जन यादव /जीतपुर, बारा
लघु उद्यमीलाई प्रोत्साहन गर्नुका साथै प्लास्टिकमुक्त नगर निर्माण अभियानलाई प्रभावकारी बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय महिलाले उत्पादन गरेका कपडाका झोला बजारमै पुगेर प्रवद्र्धन गर्न थालेको छ।
उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले जीतपुर र सिमरा बजारका विभिन्न पसलमा पुगेर कपडाका झोलाको महत्वबारे जानकारी गराउँदै व्यवसायीहरूलाई प्लास्टिकको झोलाको प्रयोग घटाई स्थानीय स्तरमा उत्पादित कपडाका झोला खरिद गरी प्रयोग गर्न आग्रह गरेको हो।

यी झोला जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरास्थित छातापिपरा गार्मेन्ट समूहमा आबद्ध महिलाहरूले उत्पादन गरेका हुन्। उपमहानगरपालिकाको उद्यम विकास शाखाले सञ्चालन गर्दै आएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सीपमूलक तालिम प्राप्त महिलाहरूले गार्मेन्ट व्यवसायमार्फत कपडाका झोला उत्पादन गरिरहेका छन्।
उद्यम विकास शाखाका वरिष्ठ लघु उद्यम सहजकर्ता दिपनारायण रायका अनुसार गाउँघरमा घरायसी कामकाजमा सीमित रहेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सिलाइ–कटाइ तथा गार्मेन्ट सम्बन्धी तालिम प्रदान गरिएको हो। तालिमपछि महिलाले उत्पादन गरेका सामग्रीको उचित बजारीकरण हुन नसकेमा उनीहरूको व्यवसाय दिगो बन्न कठिन हुने भएकाले उपमहानगरपालिका आफैं बजारमा पुगेर प्रवद्र्धन अभियान सञ्चालन गरिएको उनले बताए।

उनका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्नु, उद्यमीको आम्दानी वृद्धि गर्नु तथा वातावरण संरक्षणमा योगदान पु¥याउनु अभियानको मुख्य उद्देश्य हो। कपडाका झोला पुनः प्रयोग गर्न सकिने, बलियो तथा वातावरणमैत्री भएकाले प्लास्टिकजन्य फोहोर न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।अभियानका क्रममा व्यवसायीहरूले पनि स्थानीय महिलाले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उपमहानगरपालिकाले आगामी दिनमा विद्यालय, सरकारी कार्यालय, सहकारी संस्था तथा विभिन्न संघसंस्थामार्फत समेत कपडाका झोलाको प्रयोगलाई व्यापक बनाउने योजना रहेको जनाएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाले केही समययता “प्लास्टिकमुक्त नगर“ अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। सोही अभियानलाई सफल बनाउन स्थानीय उत्पादनको प्रयोग बढाउने, प्लास्टिकका झोलाको प्रयोग निरुत्साहित गर्ने तथा वातावरण संरक्षणसँगै स्थानीय उद्यमीको आर्थिक सशक्तीकरणलाई जोड दिँदै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उपमहानगरपालिकाका अनुसार स्थानीय उत्पादनको प्रयोग बढ्दै गएमा महिलाहरूको आयआर्जनमा वृद्धि हुनुका साथै रोजगारी सिर्जना, उद्यमशीलताको विकास र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




