पहिलो ब्याचमै शतप्रतिशत नतिजा, प्रोग्रेस एजुकेसन एकेडेमीद्वारा विद्यार्थी ,शिक्षक र अभिभावकलाई सम्मान

रञ्जन यादब /बारा १४ असार

जीतपुरसिमरा उपमहानगरपालिका–१५ डमरवानास्थित प्रोग्रेस एजुकेसन एकेडेमीले कक्षा १२ को परीक्षामा शत प्रतिशत नतिजा ल्याउँनमा मदत गर्ने बिद्यार्थी ,शिक्षक र अभिवाकलाई सम्मान गरेको छ । पहिलो ब्याचमै विद्यालयले शत प्रतिशत नतिजा ल्याउन सफल भएपछि विद्यालयले आइतबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उनीहरूका अभिभावक तथा शिक्षकहरूलाई सम्मान गर्दै बधाई ज्ञापन गरिएको विद्यालयका प्रिन्सिपल शान्ताराम खनालले जानकारी दिनुभयो। विद्यालयका अनुसार कक्षा १२ मा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप कक्षा १२ मा बुझाएको सम्पूर्ण मासिक शुल्क बराबरको रु. ३६ हजार अक्षरेपी चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा डमरवाना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राधेश्याम सिवाकोटी, प्याब्सन बारा अध्यक्ष राजु कार्की, प्रमुख सल्लाहकार नेत्रप्रसाद दाहाल, डुमरवाना पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल अनिल तिवारी र एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल कृष्ण रजत लगायत शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रन्जित सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो प्रयासमै विद्यालयले ऐतिहासिक सफलता हासिल गरेको भन्दै सहभागीहरूले विद्यालय परिवारलाई बधाई तथा आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए। विद्यालयको यो उपलब्धिले डमरवाना क्षेत्रको शैक्षिक क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ। उक्त बिद्यालय कक्षा १२ को परिक्षामा पहिलो पट्क सहभागि हुँदै शत प्रतिशत नतिजा ल्याउँन सफल भएको हो ।