रञ्जन यादव /बारा
बाराको जीतपुर बजारमा शनिबार राति भएको चोरीको घटनाले स्थानीय व्यापारीलाई मात्र होइन, सर्वसाधारणलाई समेत अचम्मित बनाएको छ। सामान्य चोरीभन्दा फरक शैलीमा भएको यस घटनामा चोरहरूले नगद र सामान चोरी गर्नुका साथै पसलमै बसेर चटपटे बनाएर खाएका छन् भने बिर्यानी हाउसमा गएर बिर्यानीसमेत खाएर आरामसँग फरार भएको खुलेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–७ अन्तर्गत रहेको विशाल मार्केट र सिटी मार्केटका आधा दर्जनभन्दा बढी पसलमा अज्ञात समूहले लाखौं रुपैयाँ बराबरको नगद तथा विभिन्न सामग्री चोरी गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।आइतबार बिहान व्यापारीहरू पसल खोल्न पुगेपछि चोरी भएको थाहा भएको हो। आश्चर्यजनक रूपमा अधिकांश पसलको मुख्य ढोका वा ताला भने यथावत् अवस्थामा थियो।
चोरहरूले भवनको छानामाथिको जस्तापाता उप्काएर पसलभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसले घटनामा संलग्न समूहले योजनाबद्ध रूपमा चोरी गरेको अनुमान गरिएको छ।व्यापारीहरूका अनुसार चोरहरूले कुनै हतार नगरी एउटा चटपटे पसलमा आफैं चटपटे बनाएर खाएका थिए। त्यसपछि नजिकै रहेको बिर्यानी हाउसमा गएर बिर्यानीसमेत खाएको देखिएको छ। उनीहरूले त्यहाँबाट महँगा इनर्जी ड्रिंक्स, चाउचाउ तथा अन्य खाद्य सामग्री पनि चोरी गरेर लगेका छन्।घटनालाई थप रहस्यमय बनाउने पक्ष भनेको अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामरा नै भित्ताबाट उखेलेर साथमा लगिएको हो। प्रहरीसम्म भिडियो प्रमाण नपुगोस् भन्ने उद्देश्यले चोरहरूले क्यामरा नै बोकेर लगेको हुन सक्ने अनुमान गरिएको छ।

मुन्ना फेसनबाट नगद ५० हजार रुपैयाँ, १३ थान सर्ट र एक थान सीसीटीभी क्यामरा चोरी भएको पसल सञ्चालक सुमोद चौरसियाले बताए।त्यस्तै, जायदा फेन्सी स्टोर्सबाट नगद ७ हजार रुपैयाँ तथा करिब एक लाख रुपैयाँ बराबरका कपडा चोरी भएको सञ्चालक नजरुल हसनले जानकारी दिए।साजहान फेसनबाट नगद ८० हजार रुपैयाँ, करिब ४० हजार रुपैयाँ बराबरका दुई बन्डल कपडा र एक थान सीसीटीभी क्यामरा चोरी भएको सञ्चालक जसिम अन्सारीले बताए।शुद्ध चटपटे पसलबाट २४ वटा रेड बुल, पाँच पेटी चाउचाउ तथा अन्य खाद्य सामग्री चोरी भएको सञ्चालक अरबिन्द कुमार गुप्ताले जानकारी दिए। त्यस्तै, जमजम बिर्यानी हाउसबाट एक कार्टुन डिउ पेय पदार्थ र नगद ४ सय रुपैयाँ चोरी भएको सञ्चालक गुलाम कैसले बताए।यस्तै, शाहिन फेन्सी स्टोर्स एण्ड ब्याग हाउसबाट नगद १० हजार रुपैयाँ तथा ५ सय रुपैयाँ मूल्यका २० वटा ब्याग चोरी भएको सञ्चालक जाबेद अन्सारीले जानकारी दिए।
व्यापारीहरूका अनुसार एउटै राति यति धेरै पसलमा चोरी हुँदा पनि कसैले कुनै गतिविधि थाहा नपाउनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। बजार क्षेत्रमा रात्रीकालीन सुरक्षा गस्ती प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ। लगातार भइरहेका चोरीका घटनाले व्यापारीहरू त्रसित बनेका छन् भने बजार क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन स्थानीयले आग्रह गरेका छन्।घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरको टोली आइतबार बिहान घटनास्थल पुगेर स्थलगत अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको, सम्भावित प्रवेश र बाहिरिने मार्गको अध्ययन भइरहेको तथा उपलब्ध अन्य प्राविधिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
यस घटनाले जीतपुर बजारका व्यापारीहरूमा ठूलो चिन्ता थपेको छ। नगद, कपडा, खाद्य सामग्रीदेखि सीसीटीभी क्यामरासम्म चोरी हुनु र चोरहरूले पसलमै बसेर खाना खाएको शैलीले यो घटना सामान्य चोरीभन्दा फरक र योजनाबद्ध रहेको स्थानीयको भनाइ छ। प्रहरीले छिट्टै दोषीलाई पक्राउ गरी चोरी भएका सामान बरामद गर्ने विश्वास व्यक्त गरेको छ।




