रञ्जन यादब /बारा १३ असार
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। आयोजित कार्यक्रममा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा रिबन काटी तथा शिलालेख अनावरण गर्दै भवनको उद्घाटन गर्नुभएको हो।
उपमहानगरपालिकाका अनुसार करिब ४० लाख रुपैयाँको लागतमा पाँच कोठे आधुनिक प्रशासकीय भवन निर्माण गरिएको हो। नयाँ भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक तथा नागरिक सेवाहरू थप व्यवस्थित, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले स्थानीय सरकारको प्रमुख दायित्व नागरिकलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउनु रहेको बताउँदै त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले नयाँ भवनले सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख अधिकारीले स्थानीय तहको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउन उपमहानगरपालिका निरन्तर लागिपरेको बताउँदै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु सकारात्मक उपलब्धि भएको धारणा राख्नुभयो।कार्यक्रममा वडा नं.२२ का वडा अध्यक्ष शेखरकाजी रुम्बा , जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयवासीले नयाँ प्रशासकीय भवन निर्माणसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा अझ छिटो, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।





