सिमरामा ‘ग्यामिफिकेसन र फोनिक्स लर्निङ’ सम्बन्धी कार्यशाला सम्पन्न

रञ्जन यादब /बारा १२ असार

बाराको सिमरामा सिमराडुमरवाना स्कूल्स हबको आयोजनामा ‘ग्यामिफिकेसन एण्ड फोनिक्स लर्निङ’ विषयक एकदिने विशेष कार्यशाला सम्पन्न भएको छ ।सिमरास्थित सिमरा इनमा शुक्रबार आयोजित कार्यशाला अमेरिकी दूतावास, काठमाडौं तथा रिजनल इङ्ग्लिस ल्याङ्ग्वेज अफिस को सहकार्यमा सञ्चालन गरिएको हो।

‘शिक्षकलाई सशक्त बनाऔं, सिकाइलाई प्रभावकारी बनाऔं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा विद्यालय तहको शिक्षणलाई थप प्रभावकारी, आधुनिक तथा विद्यार्थीमैत्री बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक बिबस जंग थापाले जानकारी दिए ।कार्यशालामा खेलमा आधारित सिकाइ प्रणाली तथा फोनिक्स मार्फत अंग्रेजी भाषा शिक्षणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा शिक्षक–शिक्षिकालाई व्यवहारिक प्रशिक्षण दिइएको थियो।

बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सिमरा डुमरवाना स्कूल्स हबमा आबद्ध संस्थागत बिद्यालयका २२ जना प्राथमिक तहको शिक्षकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा अमेरिकी अंग्रेजी भाषा फेलो एन्ना लिटिलपेज र रेलो टीओटी ग्रेजुवेट प्रशिक्षक बिबस जंग थापाले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले आधुनिक शिक्षण विधि, विद्यार्थीको सहभागिता बढाउने उपाय तथा कक्षाकोठालाई थप सिर्जनशील र प्रभावकारी बनाउने विविध अभ्यास प्रस्तुत गर्नुभएको थियो।

आयोजक संस्थाका संयोजक बसन्त ढकालका अनुसार यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्नुका साथै विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।