पूर्वाधारदेखि डिजिटल सेवासम्म: जीतपुरसिमराले ल्यायो १ अर्ब ८७ करोडको महत्वाकांक्षी बजेट

रञ्जन यादव /जितपुर १० असार

जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख भोला प्रसाद अधिकारीले बुधबार सम्पन्न नगरसभाको १४औँ अधिवेशनको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै दिगो पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, रोजगारी प्रवद्र्धन तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए।चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट ६.९५ प्रतिशतले घटाइएको छ। आगामी वर्षका लागि वडा तहमा सञ्चालन हुने योजनाका लागि २२ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने संघीय सरकारबाट ७९ करोड ९ लाख र मधेश प्रदेश सरकारबाट ५ करोड ६२ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

आन्तरिक आयबाट २५ करोड ८७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा अघि बढाउँदै महिला कृषि स्वयंसेविका कार्यक्रमका लागि ३० लाख, ई–एग्रिकल्चर एप सञ्चालनका लागि २० लाख तथा प्रत्येक वडामा मोबाइल भेटेरिनरी सेवा सञ्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। अमलेखगञ्जलाई होमस्टेसहितको पर्यटकीय हबका रूपमा विकास गर्ने तथा ऐतिहासिक कर्मकुमारी धाराको संरक्षण तथा पुनर्निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको छ।शिक्षा क्षेत्रमा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड जडानका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ। स्वास्थ्यतर्फ १५ शैयाको जीतपुरसिमरा नगर अस्पतालको भवन निर्माण यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने तथा सामान्य शल्यक्रिया सेवा समेत सुरु गरिने बजेटमा उल्लेख छ।पूर्वाधार विकासतर्फ नगर क्षेत्रका सडक स्तरोन्नति, ग्रामीण क्षेत्रमा दुई वटा साझा बस सञ्चालन, मुख्य सडकमा सीसीटीभी जडान तथा कृषि सिँचाइ कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।

वडा नम्बर २ मा नमुना कार्यक्रमका रूपमा सुरु गरिएको डिजिटल घर पहिचान कार्यक्रमलाई आगामी वर्ष सबै २४ वडामा विस्तार गरिने भएको छ।वातावरण तथा विपद् व्यवस्थापनतर्फ प्लास्टिकमुक्त नगर अभियान, वृक्षारोपण, पर्सा राष्ट्रिय निकुञ्जको सहकार्यमा पथलैयामा जंगली जनावरका लागि होल्डिङ सेन्टर निर्माण गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, बकुलिया खानेपानी ट्याङ्कीबाट वडा नम्बर ५, ६, ७ र ८ मा स्वच्छ खानेपानी वितरणका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ।सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित उपमहानगरपालिकाको डिजिटल प्रोफाइल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै नापी र मालपोत सम्बन्धी सेवा आगामी आर्थिक वर्षदेखि उपमहानगरपालिकाबाटै उपलब्ध गराउने तयारी गरिएको छ।चालु आर्थिक वर्षमा २ अर्ब १ लाख रुपैयाँको बजेटमध्ये असार ९ गतेसम्म १ अर्ब ११ करोड २९ लाख रुपैयाँ अर्थात् ५५.४२ प्रतिशत खर्च भएको उपप्रमुख अधिकारीले जानकारी दिए। पूँजीगत खर्च ४०.४२ प्रतिशत पुगेको र असार मसान्तसम्म करिब ६० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ।बजेट वक्तव्यमा २०८२ भदौमा भएको ‘जेन–जी आन्दोलन’ का क्रममा उपमहानगरपालिकाले भौतिक तथा आर्थिक क्षति व्यहोरेको उल्लेख गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सेवा प्रवाहलाई नियमित बनाउन आगामी वर्ष पनि आवश्यक स्रोत सुनिश्चित गरिएको जनाइएको छ।

उपमहानगरपालिकाको १४औँ नगरसभाअन्तर्गत दोस्रो बैठक नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को महालेखापरीक्षकको अन्तिम प्रतिवेदन कार्यपालिका सदस्य चतुरबाबु वाग्लेले प्रस्तुत गरेका थिए। त्यसैगरी, लेखा समितिको प्रतिवेदन समितिका संयोजक विशाल घिमिरेले सभामा पेश गरेका थिए।यस्तै, विधेयक समितिको प्रतिवेदन समितिका संयोजक इन्दल हजराले प्रस्तुत गरेका थिए भने सुशासन समितिको प्रतिवेदन संयोजक शुशिला देवी थरुनीले बैठकमा वाचन गरी पेश गरेकी थिइन्।नगरसभाको बैठकमा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सदस्य सचिवको भूमिका निर्वाह गरेका थिए।
बैठकमा प्रस्तुत प्रतिवेदन तथा सुझावमाथि छलफल गर्दै नगरसभाले उपमहानगरपालिकाको वित्तीय व्यवस्थापन, सुशासन प्रवद्र्धन तथा नीतिगत सुधारका विषयमा आवश्यक निर्णयहरू अगाडि बढाउने अपेक्षा गरिएको छ।