जीतपुरसिमरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, ९५७ व्यवसायीलाई दुर्घटना बीमा घोषणा

रञ्जन यादव /बारा ११ असार

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम  जीतपुरस्थित संघको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेका हुन्।

संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग वाणिज्य संघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल तथा वरिष्ठ उद्योगपति एवं पूर्व अध्यक्ष गणेश लाठको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। त्यसपछि निवर्तमान अध्यक्ष शर्माले नवनिर्वाचित अध्यक्ष गुप्तालाई पदभार हस्तान्तरण गर्नुभएको थियो।

नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्। त्यस्तै वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्तालगायत सदस्यहरूले पनि सपथ ग्रहण गरी पदभार सम्हालेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेले विभिन्न संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गर्दै संस्थालाई यहाँसम्म ल्याउन अनेक चुनौतीहरूको सामना गर्नुपरेको बताउनुभयो। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित संघले उद्योगी तथा व्यवसायीहरूको हकहितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा संस्था अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताले व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभयो। उहाँले संघको तेस्रो अधिवेशनका लागि सदस्यता नवीकरण गरेका ९५७ जना सदस्य व्यवसायीलाई प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइने घोषणा गर्नुभयो। सम्बन्धित बीमा कम्पनीसँग सम्झौता सम्पन्न भइसकेको र उक्त बीमा योजना असार १४ गतेदेखि लागू हुने जानकारी उहाँले दिनुभयो।

अध्यक्ष गुप्ताले साना तथा मझौला व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाको कर्जा, बजारको मन्दी, घट्दो आर्थिक गतिविधि, लगानीको असुरक्षा तथा निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिबाट प्रभावित भइरहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग सहकार्य गरी यस्ता समस्याको समाधानका लागि सक्रिय पहल गरिने बताउनुभयो। व्यवसायीमैत्री वातावरण निर्माण, उद्योग प्रवर्द्धन, लगानी आकर्षण तथा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगी–व्यवसायीहरूको सम्मान र प्रतिष्ठा अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

प्रमुख अतिथि अशोक टेमानीले नयाँ कार्यसमितिले पदभार ग्रहण गरेकै दिन व्यवसायीहरूको सुरक्षासँग जोडिएको दुर्घटना बीमा कार्यक्रम घोषणा गर्नु सकारात्मक र उदाहरणीय कदम भएको बताउनुभयो। उहाँले विशेष आर्थिक क्षेत्र (SEZ) देशकै महत्वपूर्ण औद्योगिक क्षेत्र रहेको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीहरूलाई त्यहाँ लगानी गर्न आग्रह गर्नुभयो। साथै जीतपुरसिमराका उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुप्ताद्वारा निर्वाचन समितिलाई प्रशंसापत्र प्रदान गरिएको थियो। उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा नयाँ नेतृत्वप्रति आशा र विश्वास व्यक्त गरिएको थियो।

उल्लेखनीय रूपमा, असार ७ गते सम्पन्न संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको थियो। उहाँको प्यानलका उम्मेदवारहरू अधिकांश पदमा विजयी भएका थिए। नयाँ कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।