रञ्जन यादव /बारा, असार ९
जीतपुर र बकुलिया क्षेत्रका स्थानीयवासीले अब बकुलिया खानेपानी ट्याङ्कीबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन्। लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको खानेपानी आयोजना अन्ततः वितरणको चरणमा पुगेपछि स्थानीयवासीमा उत्साह छाएको छ।
भवानीपुर–जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले घरधारामा पानी जडानका लागि आवेदन फाराम वितरण सुरु गर्ने तयारी गरेको छ। संस्थाका अध्यक्ष हरेराम कामीद्वारा जारी सूचनामा खानेपानी सेवा लिन इच्छुक उपभोक्तालाई आवश्यक कागजातसहित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।करिब तीन दशकअघि आवश्यक पूर्वाधारसहित निर्माण गरिएको बकुलिया खानेपानी ट्याङ्की विभिन्न प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय कारणले पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन।

पटक–पटक योजना बने पनि कार्यान्वयन हुन नसक्दा जीतपुर र बकुलियावासीले सुरक्षित खानेपानीको सुविधा पाउनबाट वञ्चित हुँदै आएका थिए।खानेपानी वितरणको काम अहिले अन्तिम चरणमा पुगेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख राजन पौडेलले आयोजनाको नियमित अनुगमन गर्दै सम्बन्धित समिति तथा प्राविधिक पक्षलाई समयमै काम सम्पन्न गर्न निरन्तर दबाब दिँदै आएका कारण कामले गति लिएको जनाइएको छ।यसअघि पाइपलाइन विस्तारका क्रममा सडक तथा पुल क्षेत्रमा प्राविधिक समस्या देखिएको भन्दै काम पटक–पटक प्रभावित भएको थियो। कतिपय स्थानमा पाइप बिछ्याउने अनुमति, सडक कटान तथा संरचना व्यवस्थापनका कारण ढिलाइ भएको बताइन्छ। तर पछिल्लो समय मुख्य राजमार्गको पुर्बपट्टीको जनतालाई खानेपानी खुवाउँने चाहनाले वितरण सञ्जाल विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ।

संस्थाका पदाधिकारीका अनुसार अधिकांश मुख्य पाइपलाइन जडानको काम सम्पन्न भइसकेको छ भने घरधुरीसम्म धारा जडान गर्ने प्रक्रिया सुरु हुन लागेको छ। प्रारम्भिक चरणमा जीतपुर र बकुलिया क्षेत्रका सयौं घरधुरीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।स्थानीयवासीले लामो समयदेखि प्रतीक्षा गरिएको खानेपानी आयोजना सञ्चालनमा आउन लागेकाले खुसी व्यक्त गरेका छन्।

नियमित र स्वच्छ खानेपानी उपलब्ध भएपछि दैनिक जीवन सहज हुनुका साथै स्वास्थ्य जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।खानेपानी वितरण औपचारिक रूपमा सुरु भएपछि वर्षौंदेखि अधुरो रहेको जीतपुर–बकुलियावासीको सुरक्षित खानेपानी पिउने सपना अन्ततः साकार हुने विश्वास गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको पुर्बधार शाखा प्रमुख ईन्जिनीयर अभयकान्त झाका अनुसार खानेपानी कार्यालयको कार्यालय ब्यवस्थीत बनाउँने कार्य भईरहेको बताएका छन् । कार्यालयको उचित ब्यवस्थापन नहुँदा धारा जडानको माग गर्न आउँने मानिसहरु कार्यालय बन्द भएको देखेर फर्किने गरेको गुनासो आएको थियो ।




