छातापिपरामा ६९ किशोरीलाई महिनावारी स्वच्छताबारे सचेतना

बारा १६ असोज

बाराको छातापिपरामा ६९ जना किशोरीलाई महिनावारी स्वच्छता तथा सुरक्षित व्यवस्थापनसम्बन्धी सचेतना दिइएको छ।इनरव्हील क्लब अफ वीरगञ्जको आयोजना तथा ‘लुमन्ती’ (सपोर्ट ग्रुप फर सेल्टर) को समन्वयमा आयोजित कार्यक्रममा विद्यालय बाहिर रहेका १२ देखि १९ वर्ष उमेर समूहका किशोरी सहभागी भएका थिए।

कार्यक्रममा स्वास्थ्यकर्मी रञ्जिता साहले महिनावारीका बेला अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, स्वास्थ्य सावधानी तथा सुरक्षित व्यवस्थापनका उपायबारे सहजीकरण गरेकी थिइन्। सहभागी किशोरीलाई निःशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको थियो।

वडा अध्यक्ष मोतीलाल प्रसाद यादवको प्रमुख आतिथ्य तथा इनरव्हील क्लबकी अध्यक्ष डा. प्रीति गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिनावारीलाई संकोचको विषय नबनाई स्वास्थ्य र सरसफाइसँग जोडेर खुलेर छलफल गर्नुपर्नेमा जोड दिइएको थियो।