सिमरा महिला सहकारीको कारोबार २० करोड नाघ्यो, खुद नाफा ५१ लाख ९७ हजार भन्दा बढी

रञ्जन यादब /बारा १७ असोज

सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सिमरास्थित थानिमाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा शनिबार आयोजित साधारण सभा संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न भएको हो।साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थामा हाल २ हजार १ सय २४ जना शेयर सदस्य रहेका छन्।

सहकारीले गत आर्थिक वर्षमा २० करोड ४३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ।संस्थाको शेयर पुँजी १ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने बचततर्फ १५ करोड ६२ लाख ८ हजार ३ सय १० रुपैयाँ संकलन भएको छ। यस्तै, संस्थाले १४ करोड १४ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको र गत आर्थिक वर्षर्२०८२।०८३ मा ५१ लाख ९७ हजार ४ सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ। साधारण सभामा अध्यक्ष मुना खरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

लेखा सुपरीवेक्षण समितिकी संयोजक उर्मिला कुमारी सापकोटाले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार अनिता लम्सालले थोरै शेयर सदस्यबाट सुरु भएको महिला नेतृत्वको सहकारीले १९औँ साधारण सभासम्म आइपुग्दा २ हजारभन्दा बढी सदस्य बनाउन सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, समूह तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

उत्कृष्ट बाल बचतकर्ताका रूपमा अनुभव पौडेल र कृपा लामिछाने, उत्कृष्ट बचतकर्ताका रूपमा उमा देवी लामा र मञ्जु देवी तथा ज्येष्ठ शेयर सदस्यका रूपमा माइली देवी ठकुरी सम्मानित हुनुभयो।त्यस्तै, उत्कृष्ट समूहका रूपमा सगुन बचत समूह, असल बचत समूह र उज्ज्वल बचत समूह छातापिप्रालाई सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारी ओमकुमारी श्रेष्ठलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको संस्थाले जनाएको छ।साधारण सभाको सञ्चालन संस्थाकी सचिव गीता कुमारी शर्माले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष भीमा देवी शर्मा, कोषाध्यक्ष सनम पौडेल, सहसचिव निलम चौधरी, सदस्य भगवतीया देवी, शान्ता कुमारी गौतम, किरण कुमारी झासहित शेयर सदस्यहरूको सहभागिता रहेको थियो।