बारामा झाङ्गड समुदायको करम पूजा सम्पन्न

रञ्जन यादब /बारा १६ असोज

झाङ्गड समुदायको प्रमुख सांस्कृतिक पर्व करम पूजा जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित बेहरी स्कुल टोलमा भव्य रूपमा सम्पन्न भएको छ।

जितीया पर्बको अवसरमा समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण गर्ने उद्देश्यले असोज १५ र १६ गते दुई दिनसम्म करम पूजा आयोजना गरिएको वडा नं.१४ का वडा अध्यक्ष चयन गुरुङ्गले जानकारी दिनुभयो । पूजामा झाङ्गड समुदायका स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रदेश सदस्य देवनारायण चौधरी तथा विशेष अतिथिका रूपमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बन्धित वडाका अध्यक्षलगायत विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

करम पूजाका अवसरमा परम्परागत विधिअनुसार पूजा–आराधना, सांस्कृतिक गतिविधि तथा समुदायका मौलिक परम्परासँग सम्बन्धित कार्यक्रमहरू आयोजना गरिएको थियो। सहभागीहरूले करम पर्वले झाङ्गड समुदायको संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

कार्यक्रममा अतिथिहरूले झाङ्गड समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।