रञ्जन यादब /बारा ०९ असोज
सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगपालिका वडा नं.५ स्थित अशोक स्टील नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका वडा नं.१४ का १८ वर्षीय राजन पासवान रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको प्र.२–०३–००९प ३७५६ नम्बरको मोटरसाइकलमा उनीहरु सवार रहेका थिए ।
सशस्त्र पहरी बलको नेपाल इन्टेलिजेन्स व्यूरोको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणी अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ ।




