लालबकैया पुलबाट हामफालेका युवक बेपत्ता, प्रहरीले बनायो खोजी तीव्र

 

रौतहटको मौलापुर नगरपालिका वडा नं.४ स्थित लालबकैया पुलबाट हामफालेका एक युवक बेपत्ता भएका छन्। शुक्रबार दिउँसो पुलबाट खोलामा हामफालेका बारा सिम्रौनगढ नगरपालिका वडा नं.११ कटहरियाका २७ वर्षीय सचिन्द्र यादव त्यसपछि सम्पर्कविहीन भएका हुन्।

प्रहरीका अनुसार उपचारका लागि दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा बसेर रौतहटतर्फ जाँदै गरेका सचिन्द्र पुलमा पुगेपछि अचानक मोटरसाइकलबाट ओर्लिएर लालबकैया खोलामा हामफालेका थिए।

घटनापछि उनको अवस्था अज्ञात रहेकाले प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना प्रहरी टोली खोजीमा परिचालन गरिएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहित सात जनाको टोली पनि खोजीमा खटिएको छ।

बेपत्ता युवकको मानसिक अवस्था ठीक नभएको र पुलमा पुगेपछि अचानक मोटरसाइकलबाट ओर्लिएर खोलामा हामफालेको जानकारी उनका दाइ सिकिन्द्रले प्रहरीलाई दिएका छन्। प्रहरीले खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।