बारा जिल्लाका होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलको अनुगमन, एक फर्मलाई १० हजार रुपैयाँ जरिवाना

रञ्जन यादब /बारा १८ असार

खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बारा जिल्लाका विभिन्न स्थानमा होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको संयुक्त अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा निजगढ क्षेत्रमा तथा कार्यालयसहितको संयुक्त अनुगमन टोलीले कलैया र प्रसौनी क्षेत्रमा सञ्चालनमा रहेका होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, पसल तथा भान्सा कोठाको नियमित सरसफाइ गर्न, खाद्य पदार्थलाई धुलो, धुवाँ र किराफट्याङ्ग्राबाट सुरक्षित राख्न, अखाद्य तथा प्रतिबन्धित रङको प्रयोग नगर्न तथा खाद्य वस्तु पकाउन र तार्न प्रयोग गरिने खाने तेलको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजका प्रमुख सुरेश कुमार सिँहले जानकारी दिनुभयो ।

यसैगरी, पुनःपुनः प्रयोग गरिएको खाने तेल प्रयोग नगर्न, म्याद गुज्रिएका खाद्य सामग्री बिक्री वितरण नगर्न, खाद्य वस्तु उचित तापक्रममा भण्डारण गर्न तथा उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन पनि व्यवसायीहरूलाई सचेत गराइएको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको र आवश्यक मापदण्ड पूरा नगरेको एउटा फर्ममा कैफियत भेटिएपछि प्रचलित कानुन बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ।

अनुगमन टोलीले खाद्य व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि प्रकारको लापरवाही नगर्न आग्रह गर्दै आगामी दिनमा समेत यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। कार्यालयले खाद्य स्वच्छताको मापदण्ड पालना गर्न सबै व्यवसायीलाई अनुरोध गर्दै उपभोक्ताले पनि गुणस्तरीय खाद्य वस्तुको प्रयोगमा सचेत रहनुपर्नेमा जोड दिएको छ।