लघु उद्यमीलाई वित्तीय पहुँच विस्तार गर्न जीतपुरसिमरामा अन्तरक्रिया कार्यक्रम

रञ्जन यादब /बारा १८ असार

जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय लघु उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्दै उद्यमशीलतालाई थप सुदृढ बनाउने उद्देश्यले लघु उद्यमी, वित्तीय संस्था तथा बीमा कम्पनीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।उपमहानगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बीमा कम्पनीका प्रतिनिधि तथा लघु उद्यमीहरूको सहभागिता रहेको थियो।कार्यक्रमबारे जानकारी दिँदै वरिष्ठ लघु उद्यम विकास सहजकर्ता दीपनारायण रायले लघु उद्यमीहरूलाई आवश्यक पूँजीको पहुँच सहज बनाउनु, वित्तीय साक्षरता अभिवृद्धि गर्नु तथा उद्यम सञ्चालनका क्रममा आवश्यक बैंकिङ र बीमा सेवाबारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

अन्तरक्रियामा सहभागी वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूले ऋण लिने प्रक्रिया, विभिन्न प्रकारका कर्जा योजना, सहुलियत ब्याजदरमा उपलब्ध हुने ऋण, उद्यमका लागि आवश्यक कागजात, बचतको महत्व, व्यवसाय विस्तारका अवसर तथा सम्भावित जोखिम न्यूनीकरणका लागि बीमाको आवश्यकता र फाइदाबारे विस्तृत जानकारी दिएका थिए।

सहभागी उद्यमीहरूले ऋण प्राप्तिमा देखिएका समस्या, आवश्यक प्रक्रिया तथा बीमा सम्बन्धी जिज्ञासा राखेका थिए भने प्रतिनिधिहरूले त्यसबारे स्पष्ट जवाफ दिएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले लघु उद्यम नै स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनाको आधार भएको उल्लेख गर्दै उद्यमीहरूले वित्तीय संस्थासँग पारदर्शी र जिम्मेवार कारोबार गर्नुपर्ने बताए। उनले ऋण लिँदा यसको उद्देश्य, भुक्तानी क्षमता र व्यवसायिक योजना स्पष्ट बनाउँनुपर्ने बताए ।नगरप्रमुख पौडेलले वित्तीय संस्था र बीमा कम्पनीबाट उपलब्ध सेवा–सुविधाबारे पर्याप्त जानकारी लिएर मात्रै कारोबार गर्न आग्रह गर्दै सही व्यवस्थापन, नियमित बचत, समयमै ऋण भुक्तानी तथा व्यवसायको बीमा गर्न सके उद्यमलाई दिगो र सुरक्षित बनाउन सकिने बताए। उनले उद्यमीहरुलाई सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी उद्यमीहरूले यस्ता अन्तरक्रियाले वित्तीय सेवाप्रति आफ्नो बुझाइ बढेको, सहुलियत ऋण र बीमा सम्बन्धी जानकारी प्राप्त भएको तथा आगामी दिनमा व्यवसाय विस्तार गर्न थप आत्मविश्वास मिलेको बताएका थिए।उपमहानगरपालिकाले आगामी दिनमा पनि उद्यमीहरूको क्षमता अभिवृद्धि, वित्तीय पहुँच विस्तार तथा बजार व्यवस्थापनसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।