रञ्जन यादव /बारा ११ असार
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ। उपमहानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख राजन पौडेल तथा उपप्रमुख भोला प्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष गजेन्द्र कुमार गुप्ता सहितको पदाधिकारीहरूलाई टीका, दोसल्ला तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्थानीय उद्योग, व्यापार तथा व्यवसाय प्रवद्र्धनका लागि उपमहानगरपालिका र उद्योग वाणिज्य संघबीच सशक्त सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र र स्थानीय सरकारबीचको साझेदारीले आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।उपप्रमुख अधिकारीले पनि नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै व्यवसायीहरूको हकहित, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय आर्थिक विकासमा संघले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।

हालै सम्पन्न संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले व्यवसायीहरूको हित संरक्षण, उद्योग तथा व्यापार प्रवद्र्धन र निजी क्षेत्रका समस्या समाधानका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको थियो।नगर प्रमुखको कार्यकक्षमा आयोजित सम्मान कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्षसहित नवनिर्वाचित पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा उपमहानगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।नवनिर्वाचित पदाधिकारीहरूले उपमहानगरपालिकाबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै व्यवसायीहरूको साझा हित र नगरको आर्थिक समृद्धिका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।




