छातापिप्रामा जेष्ठ नागरिक तथा एकल महिला सम्मान, झुल र छाता वितरण

रञ्जन यादव /बारा ११ असार

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रामा जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्दै झुल र छाता वितरण गरिएको छ। वडा कार्यालयले चालु आर्थिक वर्षको वडास्तरीय बजेट अन्तर्गत बिहीबार आयोजना गरेको कार्यक्रममा वडाभित्रका जेष्ठ नागरिक तथा एकल महिलालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक र एकल महिलाको सम्मानस्वरूप झुल तथा छाता वितरण गरिएको वडा अध्यक्ष मोतिलाल राउतले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय बढ्दो गर्मी, वर्षायामको सुरुवात तथा लामखुट्टेको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।वडा अध्यक्ष राउतले समाजका ज्येष्ठ नागरिक र एकल महिलाको योगदानको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले सामाजिक सुरक्षा, स्वास्थ्य तथा जीवनयापनमा सहजता ल्याउने खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने समेत जानकारी दिनुभयो।

कार्यक्रममा वडा सचिव सिद्धार्थ चौधरीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले समुदायका ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य लक्षित वर्गका समस्याप्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभयो। उहाँले सम्मान र सहयोगका यस्ता कार्यक्रमले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा सहभागी जेष्ठ नागरिक तथा एकल महिलाले वडा कार्यालयले आफ्ना आवश्यकता र समस्यालाई ध्यानमा राख्दै सहयोग गरेकोमा खुशी व्यक्त गरेका थिए। उनीहरूले प्राप्त सामग्री दैनिक प्रयोगमा उपयोगी हुने बताउँदै यस्ता सामाजिक तथा जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।कार्यक्रममा वडा जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वडा कार्यालयले आगामी वर्षहरूमा पनि लक्षित वर्गको जीवनस्तर सुधार तथा सामाजिक सम्मान अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।