रञ्जन यादव /बारा, असार
बाराको निजगढ नगरपालिका–२ स्थित सिङ्गौल वन क्षेत्रमा रहेको ८ हेक्टर अतिक्रमित वन भूमि डिभिजन वन कार्यालय बाराले सुरक्षा निकायको सहयोगमा अतिक्रमणमुक्त गरेको छ।डिभिजन वन कार्यालय बाराका अनुसार आज सोमबार बिहान ७ बजेदेखि सुरु गरिएको अतिक्रमण हटाउने अभियान बेलुका ४ बजेसम्म निरन्तर ९ घण्टा सञ्चालन गरिएको थियो।
अभियानका क्रममा वन क्षेत्रभित्र निर्माण गरिएका ११ वटा घरटहरा हटाई वन क्षेत्र खाली गराइएको डिभिजनल बन अधिकृत सुजीत कुमार झाले जानकारी दिए।यसअघि पनि डिभिजन वन कार्यालयले सिङ्गौल वन क्षेत्रको अतिक्रमण हटाउन कानुनी प्रक्रिया अघि बढाएको थियो। वन कार्यालयले जिल्ला अदालतमा दायर गरेको मुद्दामा कार्यालयको पक्षमा फैसला आएपछि गत वर्ष १३ हेक्टर क्षेत्रफलमा लगाइएका बाली नष्ट गरी उक्त भूमि वन क्षेत्रमा समावेश गरिएको डिभीजनल बन अधिकृत झाले जानकारी दिए। सो क्षेत्रमा वृक्षारोपणसमेत गरिएको वन कार्यालयले जनाएको छ।वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ बमोजिम सञ्चालन गरिएको अभियानअन्तर्गत हटाइएका घरटहरा मानव–वन्यजन्तु द्वन्द्वको उच्च जोखिम रहेको क्षेत्रमा रहेका थिए।
वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने उद्देश्यले अतिक्रमण हटाइएको जनाइएको छ।अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै प्रकारको अप्रिय घटना वा दुर्घटना नभएको डिभिजन वन कार्यालयले जनाएको छ।डिभिजन वन कार्यालय बाराले अभियान सफल बनाउन सहयोग पु¥याउने प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सुरक्षा निकायका अधिकारी तथा सुरक्षाकर्मी, वन अधिकृत, वन प्राविधिक, सशस्त्र वन सुरक्षा कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यबाद दिएको छ ।वन क्षेत्र अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि कानुनी प्रक्रियाअनुसार निरन्तर सञ्चालन गरिने कार्यालयले जनाएको छ ।




