जीतपुर क्रिकेट लिगमा स्टार, थन्डर र टाइगरको जित

जय सागर /बारा ०६ असार

शान्ति युवा विकास मञ्चको आयोजनामा सञ्चालित जीतपुर क्रिकेट लिग अन्तर्गत भएका खेलहरूमा जीतपुर स्टार, जीतपुर थन्डर र जीतपुर टाइगरले महत्वपूर्ण जित हात पारेका छन्।शान्ति युवा विकास मञ्चका सचिव अशोक दासका अनुसार प्रतियोगिताको पहिलो खेलमा जीतपुर किङ्गले पहिले ब्याटिङ गर्दै ७७ रन बनाएको थियो।

जवाफमा जीतपुर स्टारले ७८ रन बनाउँदै रोमाञ्चक जित दर्ता गर्यो । जीतपुर स्टारका क्याप्टेन रमेश ठाकुरले खेलाडिहरुको निरन्तरको प्रयास र लगनशिलताले आजको खेल जित्न सफल भएको बताएका छन् ।दोस्रो खेलमा जीतपुर थन्डरले पहिले ब्याटिङ गर्दै ८१ रन बनाएको थियो। लक्ष्य पछ्याएको रिफात फार्मेसी ५० रनमै सीमित भएपछि थन्डरले सहज जित हासिल गर्यो।तेस्रो खेलमा जीतपुर टाइगरले पहिले ब्याटिङ गर्दै ८५ रनको योगफल तयार गरेको थियो।

जवाफमा जीतपुर स्टार ६५ रनमै रोकिएपछि टाइगरले २० रनको जित निकाल्यो।चौथो खेलमा जीतपुर थन्डरले पहिले ब्याटिङ गर्दै १०५ रनको उत्कृष्ट स्कोर खडा गर्यो। १०६ रनको लक्ष्य पछ्याएको जीतपुर किङ्ग ६० रनमै समेटिएपछि थन्डरले प्रभावशाली जित दर्ता गर्यो । प्रतियोगितामा जय कुमार उत्कृष्ट प्रदर्शनसहित हालसम्म सर्वाधिक रन बनाउने तथा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहेका छन्। युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने तथा जीतपुर क्षेत्रको क्रिकेट विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूबीच उत्साह थपेको आयोजकले जनाएको छ। आगामी खेलहरूमा पनि प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ। प्रतियोगिता असार १४ गतेसम्म चल्ने छ ।