प्रोग्रेस एजुकेशन एकेडेमीको कक्षा १२ मा पनि शतप्रतिशत सफलता

रञ्जन यादव /बारा

जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित प्रोग्रेस एजुकेशन एकेडेमीले कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत उत्तीर्ण दर कायम गरेको छ। यसअघि २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो।

यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये २ जनाले ए प्लस, ७ जनाले ए, ५ जनाले बी प्लस तथा ४ जनाले बी ग्रेड प्राप्त गरेका छन्। विद्यालयबाट पहिलो पटक कक्षा १२ का विद्यार्थीहरू परीक्षामा सहभागी भएको अवस्थामा समेत सबै विद्यार्थी सफल हुनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि भएको शिक्षक रञ्जित सापकोटाले बताए।

विद्यालयले २०८१ सालमा जीतपुरसिमरा उपमहानगरपालिकाबाट कक्षा ११ सञ्चालनको स्वीकृति प्राप्त गरेपछि उच्च माध्यमिक तहको अध्यापन सुरु गरेको थियो। पहिलो ब्याचमै शतप्रतिशत नतिजासहित उल्लेखनीय सफलता हासिल हुनुमा गुणस्तरीय शिक्षण, प्रभावकारी व्यवस्थापन, विद्यार्थीहरूको मेहनत तथा अनुशासित शैक्षिक वातावरण मुख्य कारण रहेको विद्यालय प्रशासनको भनाइ छ।

यसअघि उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ८ को परीक्षा २०८१ मा समेत विद्यालयले शतप्रतिशत नतिजा ल्याएको थियो। लगातार उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको विद्यालयप्रति अभिभावक तथा स्थानीय समुदायको विश्वास अझ मजबुत बन्दै गएको शिक्षकहरूले बताएका छन्।

ग्रामीण क्षेत्रमा अवस्थित भए पनि प्रोग्रेस एजुकेशन एकेडेमीले यस क्षेत्रको शैक्षिक विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। शैक्षिक उपलब्धिसँगै विद्यालय खेलकुद गतिविधिमा पनि उत्तिकै सक्रिय रहेको छ। इन्डोर तथा आउटडोर खेलकुदका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको विद्यालयले एसक्युसी (SQC) तथा स्क्रेबलजस्ता प्रतियोगितामा समेत राष्ट्रिय स्तरमा सहभागिता जनाइसकेको छ।

विद्यालयले विद्यार्थीहरूलाई प्रविधिमैत्री र दक्ष बनाउन कक्षा ११ र १२ मा अनिवार्य कम्प्युटर शिक्षा सञ्चालन गर्दै आएको छ। आधुनिक शिक्षा, अनुशासित वातावरण र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताका कारण प्रोग्रेस एजुकेशन एकेडेमी यस क्षेत्रको एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ।