वन्यजन्तु तथा सर्प उद्धार सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

रञ्जन यादब /बारा ०६ जेठ

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा तथा पर्सा राष्ट्रिय निकुञ्जको सहजीकरणमा नगर प्रहरी र प्राविधिक जनशक्तिका लागि वन्यजन्तु तथा सर्प नियन्त्रण, उद्धार तथा व्यवस्थापन सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु तथा सर्पको सुरक्षित उद्धार, संरक्षण र आपत्कालीन अवस्थामा प्रभावकारी रूपमा परिचालन हुन सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ।तालिममा वन्यजन्तु उद्धारका आधारभूत सिद्धान्त, विभिन्न प्रजातिका सर्पको पहिचान, विषालु तथा अविषालु सर्पबीचको भिन्नता, उद्धारका क्रममा अपनाउनुपर्ने सुरक्षा सावधानी, वन्यजन्तु नियन्त्रणका व्यवहारिक विधि तथा उद्धारपछिको व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।पर्सा राष्ट्रिय निकुञ्जका विज्ञ तथा प्राविधिकहरूले सहजीकरण गरेको तालिममा सहभागीहरूलाई व्यवहारिक अभ्याससमेत गराइएको थियो ।

पछिल्लो समय बस्ती क्षेत्रमा सर्प तथा अन्य वन्यजन्तुको प्रवेश बढ्दै गएको अवस्थामा यस्ता घटनाको सुरक्षित व्यवस्थापनका लागि तालिम उपयोगी हुने विश्वास गरिएको छ। वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउन दक्ष जनशक्तिको आवश्यकता रहेको तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई बक्ताहरुले आग्रह गरेका थिए।दुई दिनसम्म सञ्चालन हुने तालिममा नगर प्रहरी, प्राविधिक कर्मचारी तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ। तालिमले वन्यजन्तु तथा सर्प उद्धार कार्यलाई थप व्यवस्थित, प्रभावकारी र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।