जीतपुरमा नवदुर्गा पूजा सुरु, कलश यात्रामा हजारौँ श्रद्धालुको सहभागिता

रञ्जन यादव, बारा ।

बाराको जीतपुरमा नवदुर्गा पूजा समितिको आयोजनामा दुर्गा पूजा सुरु भएको छ। नवरात्रको पहिलो दिन आइतबार कलश यात्रा निकाल्दै पूजा आरम्भ गरिएको हो। नवदुर्गा पूजा समितिको पूजा स्थलबाट बाजागाजा तथा भक्तिमय वातावरणसहित निकालिएको कलश यात्रामा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका थिए।

कलश यात्राले जीतपुरको विभिन्न भागको परिक्रमा गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–५ र वडा नं. ११ को सिमानामा पर्ने दुधौरा खोलासम्म पुगेको थियो।दुधौरा खोलाबाट पवित्र जल लिएर श्रद्धालुहरू पुनः पूजा स्थलमा फर्किएको पुजा समितीका अध्यक्ष सन्तोष साहले जानकारी दिए । पूजा स्थलमा विधिपूर्वक कलश स्थापना तथा धार्मिक अनुष्ठान सम्पन्न गरेसँगै यस वर्षको दुर्गा पूजा औपचारिक रूपमा सुरु भएको हो

।नवरात्रको पहिलो दिनदेखि नै जीतपुर क्षेत्रमा धार्मिक उत्साह र भक्तिमय वातावरण देखिएको छ। दुर्गा पूजाका अवसरमा श्रद्धालुहरू माता दुर्गाको आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने गर्छन्। यसरी नै बारा जिल्लाको बिभिन्न स्थानीय तहहरुमा धुमधामको साथ कलश यात्रा निकालिएको छ ।

बाराका परवानीपुर ,प्रसौनी ,कलैया ,पचरौता ,फेटा ,महागढीमाई लगायत बाराको १६ वटै स्थानीय तहमा नवरात्रीको पहिलो दिनलाई बिबिध कार्यक्र गरी भब्यसभ्य रुपले स्वागत गरि मनाईएको छ । नवरात्रभरि माता दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिने भएकाले यस पर्वलाई हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र भक्तिका साथ मनाउने गर्छन्। दुर्गा पूजाले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र सामुदायिक एकतालाई समेत बलियो बनाउने विश्वास गरिन्छ।