पथलैयामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

रञ्जन यादव / बारा २५ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित क्विक ट्वान्टी होटल अगाडि पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।हेटौँडा–पथलैया सडकखण्डमा आइतबार बिहान करिब ५ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा स्थानीय ६०–६५ वर्षीय रामबहादुर थिङ गम्भीर घाइते भएका थिए ।

घटनाको जानकारी बिहान ५ः३० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी सहायक निरीक्षक प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो । टाउकोमा चोट लागेका थिङलाई प्रहरीले आफ्नै सवारीसाधनमा तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको थियो ।

अस्पतालमा बिहान ७ः०३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव नारायणी अस्पतालमै रहेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी र त्यसका चालक महोत्तरीको बर्दिवास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक घलेले बताए ।।