एपीएफलाई टाइब्रेकरमा हराउँदै आर्मीले जित्यो महिला फुटबलको उपाधि

रञ्जन यादब /बारा २५ असोज

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा गरेको छ।

सिमरा रंगशालामा शनिबार राति भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा आर्मीले एपीएफलाई ४–३ गोलले पराजित गरेको हो। जितसँगै आर्मीले प्रतियोगिताको उपाधि उचाल्दा साविक विजेता एपीएफ भने उपविजेतामा सीमित भएको छ।

टाइब्रेकरमा आर्मीका तुलसा बोहोरा, अनिता लम्जेल, यशोधा शाही र दीपा शाहीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। आर्मीकी बिमला बिकको प्रहार भने गोलमा परिणत हुन सकेन।एपीएफका तर्फबाट गीता राना, निशा थोकर र रश्मि कुमारी घिसिङले गोल गरे। तर, कप्तान अनिता बस्नेतको प्रहारलाई आर्मीकी गोलरक्षक कविता बिकले उत्कृष्ट बचाउ गरिन्। त्यस्तै, अञ्जना राना मगरको प्रहार पोस्टमा लागेर फर्किएपछि एपीएफको उपाधि रक्षा गर्ने लक्ष्य पूरा हुन सकेन।

उपाधि जितेको आर्मीले पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ।