रञ्जन यादब /बारा १८
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्बरवानास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाले आयुर्वेदिक उपचार तथा दन्तसम्बन्धी स्वास्थ्य परीक्षण र परामर्श सेवा लिएका छन्। शिविरबाट तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका आयोजकले जनाएको छ।

शिविरको अध्यक्षता ब्रह्मकुमारी ममता दिदीले गर्नुभएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, कलैयाकी प्रमुख चिकित्सक डा. पुनिता केसी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
शिविरमा स्वास्थ्य परीक्षणसँगै आयुर्वेदिक उपचारका विभिन्न विधि, खानपान तथा जीवनशैलीसम्बन्धी परामर्श र दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी आवश्यक सुझाव प्रदान गरिएको थियो।
ग्रामीण तथा स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट सर्वसाधारणले आफ्नै गाउँठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क सेवा पाउँदा सहज भएको बताएका थिए।
कार्यक्रममा स्वास्थ्यकर्मी, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि समुदायको स्वास्थ्य र जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




