निजगढ कांग्रेस नगर सभापतिमा मैनालीको चर्चा

रञ्जन यादब ।बारा

 निजगढ नगरपालिका–९ निवासी युवा सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएका मैनाली नेपाली कांग्रेस निजगढ नगर सभापतिका लागि चर्चामा आएका छन्।

सामाजिक तथा नागरिक अभियानमा सक्रिय रहँदै आएका मैनाली निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण संघर्ष समितिमा समेत सक्रिय रहँदै आएका छन्। उनले कांग्रेसको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टीभित्रको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

पार्टीभित्र देखिएको आन्तरिक किचलो समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित मैनालीले ‘जोड्छौं कांग्रेस, बनाउँछौं कांग्रेस’ भन्ने अभियानलाई अघि बढाएको बताइएको छ। यही अभियानका साथ उनी कांग्रेसको देउवा समूहबाट निजगढ नगर सभापतिका लागि चर्चामा आएका हुन्।

मैनालीले पार्टीभित्रको गुटगत विवादभन्दा संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता र स्थानीय तहमा कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ।

निजगढ नगर कांग्रेसको नेतृत्वका लागि आकांक्षीहरूको चर्चा चलिरहेका बेला सामाजिक तथा नागरिक अभियानमा सक्रिय मैनालीको नाम पनि नगर सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको हो।