वडा १६ का क्लब तथा खेलाडीलाई खेलकुद सामग्री वितरण

रञ्जन यादब /बारा १८ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्लब तथा खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ।

वडाध्यक्ष हरिदेव खरेलले महेन्द्रनगर युवा क्लबसहित वडाभित्रका अन्य क्लब तथा खेलाडीलाई आवश्यक खेलकुद सामग्री प्रदान गरेका हुन्। युवालाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूको क्षमता विकास र मनोबल बढाउने उद्देश्यले सामग्री वितरण गरिएको वडाध्यक्ष खरेलले बताए।

सामग्री हस्तान्तरण कार्यक्रममा खरेलले खेलकुदका माध्यमबाट वडा र देशको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सकिने बताए। उनले वडा नम्बर १६ की खेलाडी गङ्गा घिमिरेले जापानमा सम्पन्न एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत कबड्डीमा नेपालका लागि कास्य पदक जितेको स्मरण गर्दै उनको उपलब्धिले वडा र देशको गौरव बढाएको उल्लेख गरे।

वडाध्यक्ष खरेलले आगामी दिनमा फुटबललगायत अन्य खेलको विकासमा समेत वडाले प्राथमिकता दिने बताए। खेलकुद गतिविधि विस्तार गर्दा युवाको प्रतिभा प्रस्फुटनसँगै उनीहरूलाई कुलत तथा नकारात्मक गतिविधिबाट टाढा राख्न सहयोग पुग्ने उनको भनाइ थियो।

उनले वडामा खेलकुदको वातावरण निर्माण गर्दै प्रतिभावान खेलाडी उत्पादन र उनीहरूको क्षमता विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।